२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली

काठमाडौँ इजरायलमा निधन भएका विपिन जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्।

जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शोकसभा आयोजना गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको आत्माको चिरशान्तिको कामना गर्दै शोकमा रहेका परिवारप्रति समवेदना व्यक्त गरिन्।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित उच्च अधिकारीहरू उपस्थित थिए। उनीहरूले पनि विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति संवेदना व्यक्त गरे।

जोशीको शव आजै विमानमार्फत धनगढी पुर्याइने र त्यहाँबाट कञ्चनपुरस्थित घरसम्म लैजाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनकाे पार्थिव शरीर इजरायलस्थित नेपाली दूतावासको समन्वयमा र इजरायली सरकारको सहयोगमा नेपाल ल्याइएको हो।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि विपिनसहित केही नेपाली विद्यार्थीहरू बन्धक बनेका थिए। इजरायली सरकारले २०२५ अक्टोबर १४ मा विपिन जोशीको निधनको पुष्टि गरेको थियो। त्यस आक्रमणमा १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका थिए।

बन्धक बनाइएका विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा सम्भव सबै पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।