क्याम्बोडियाको स्क्यामिङ सेन्टरमा काम गर्ने क्रममा नेपाली युवकको मृत्यु
- ०४ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – क्याम्बोडियामा काम गर्न पुगेका रामप्रसाद अधिकारीको मृत्यु भएको छ। कोजाग्रत पूर्णिमाको दिन परिवारले उनको शव प्राप्त गरेको हो।
बुवा बलराम अधिकारीका अनुसार, रामप्रसाद दुई वर्ष यूएईमा काम गरेपछि क्याम्बोडियाको चिनियाँ कम्पनीमा काम गर्न पुगेका थिए। श्रम स्वीकृति लिएरै गएका उनी त्यहाँ सरकारी दर्ता नभएको कम्पनीमा काम गरिरहेका रहेछन्।
क्याम्बोडियामा नेपाली दूतावास नहुँदा शव नेपाल ल्याउन समय लागेको थियो। नेपाली राजदूत धनबहादुर ओलीका अनुसार उक्त कम्पनी स्क्यामिङ सेन्टर हो, जहाँ युवा अनलाइन ठगी, जुवा र क्रिप्टो कारोबारमा लगाइन्छ।
नेपाल प्रहरीका मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले थाईल्यान्ड, म्यान्मार र क्याम्बोडियाका स्क्यामिङ सेन्टरमा युवा लैजाने र ठग्ने नेपालीहरू पनि संलग्न रहेको पत्ता लगाएको छ। पीडितहरूका अनुसार, काम गर्न नसके चरम यातना दिइन्छ।
दूतावास र अनुसन्धान निकायले उद्धार गरिएका युवाहरूको अनुसन्धान जारी राखिरहेको छ।