२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

गाजा सम्झौता उल्लङ्घन गरे हमासको अन्त्य हुने ट्रम्पको चेतावनी

गाजा सम्झौता उल्लङ्घन गरे हमासको अन्त्य हुने ट्रम्पको चेतावनी

वासिङ्गटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्, यदि हमासले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गर्यो भने समूहलाई पूर्ण रूपमा निर्मूल गरिनेछ। तर युद्धविरामको पालना गर्ने मौका भने उनीहरूलाई दिइने छ।

ट्रम्पको टिप्पणीसँगै उपराष्ट्रपति जेडी भान्स इजरायल पुगेका छन्। साताान्तमा भएको हिंसापछि अमेरिका इजरायलमा आफ्नो शीर्ष दूतहरू पनि पठाइसकेको छ।

ह्वाइट हाउसमा अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भने, “सम्झौता पालना गरेनन् भने उनीहरू नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ। हामी आवश्यक परे हस्तक्षेप गर्नेछौं।”

हमासका वार्ताकार खलिल अल–हया भने अझै युद्धविराममा प्रतिबद्ध रहेको बताए। उनले शव निकाल्न कठिन भइरहेको तर गम्भीर प्रयास भइरहेको जानकारी दिए।

ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना प्रत्यक्ष संलग्न नहुने तर अन्तर्राष्ट्रिय सहकार्यमा कदम चालिने स्पष्ट पारे। साथै, हमास कमजोर भएको र क्षेत्रीय समर्थक इरानले पनि समर्थन नगर्ने दाबी गर्दै समूह सुधार गर्न नचाहे भने निर्मूल हुने चेतावनी दिए।

सोमबार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नर नेतान्याहूसँग भेटेर ‘क्षेत्रीय विकास र अपडेट’बारे छलफल गरेका थिए।