२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल

काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल गरेकी छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइतेहरूले सरकारले भ्रष्टाचार र दमनका विरुद्ध ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।

रुपिन खड्काको नेतृत्वमा गएको १८ जनाको टोलीले “क्रान्तिबाट आएको सरकारले अब क्रान्तिकारी कदम चाल्नुपर्छ” भन्ने सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो।

सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्, “हामी ‘जेनजी’ आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। कानुनी प्रक्रिया अनुसार काम गर्छौं, भ्रष्टाचार अनुसन्धान पनि हुन्छ, चुनाव पनि हुन्छ।”

उनले भ्रष्टाचार छानबिन तीव्र गतिमा भइरहेको उल्लेख गर्दै आन्दोलनकारीलाई बोल्न र दबाब दिन जारी राख्न आग्रह गरिन्।

घाइतेहरूले केही आरोपी फरार र अकुत सम्पत्ति लुकाउने प्रयासमा रहेको बताउँदै चिन्ता व्यक्त गरेका थिए। त्यसबारे गृहमन्त्री अर्यालले भने, “भाग्न खोजेका पनि अब नेपालमै छु भनेर देखापर्न थालेका छन्।”