४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

नेपाली क्रिकेट खेलाडीको तस्बिरमा सजिएको कालीपूजा पण्डाल

नेपाली क्रिकेट खेलाडीको तस्बिरमा सजिएको कालीपूजा पण्डाल

 काठमाडौं – झापाको भद्रपुर६ मा यस वर्षको कालीपूजा विशेष बनेको छ। स्थानीय क्लब बाङ्गला भद्रपुरले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक पण्डाल तयार गरेको छ।

पूजा समितिका संयोजक विजय साहका अनुसार, जेनजी आन्दोलनपछि देशमा आएको निराशाबीच क्रिकेट टोलीले दिएको उत्साहलाई सम्झँदै यो वर्ष खेलाडीहरूलाई समर्पित पण्डाल बनाइएको हो।

पण्डालमा पुरुष, महिला र पूर्वराष्ट्रिय खेलाडी गरी ३५ जनाको तस्बिर राखिएको समितिले जनाएको छ। सदस्य पार्थ मण्डलका अनुसार सन् २०२६ को भारतश्रीलङ्का टी२० विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता पाओस् भन्ने शुभकामना स्वरूप यो आकृति बनाइएको हो।

करीब सात लाख रुपैयाँ खर्चमा तयार गरिएको पण्डालमा बिजुली बत्ती र साङ्गीतिक कार्यक्रम समेत राखिएको छ। कात्तिक ७ गते स्थानीय र भारतीय कलाकारको सहभागितामा बृहत् साङ्गीतिक कार्यक्रम हुने समितिका सदस्य निर्मल घोषले जानकारी दिए।

बङ्गाली युवाहरूले स्थापना गरेको क्लब बाङ्गलाले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो। क्लबले लगातार नौ वर्षदेखि कालीपूजा विभिन्न रूप र आकृतिमा गर्दै आएको छ।