२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

जुम्ली किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ

जुम्ली किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ

काठमाडौं – देशभर तिहारको रौनक चलिरहँदा जुम्लाका किसान भने खेतमै छन्। खेतभरि लटरम्म पाकेका मार्सीधान काट्न उनीहरूलाई अहिले भ्याइनभ्याइ छ।

चन्दननाथ२ की लक्ष्मी कुमाई भन्छिन्, “हामी बिहान सबेरै खेत पुग्छौं, बेलुकी अँध्यारो नहुँदासम्म धान काट्ने काम चल्छ।”

जुम्लाको पहिचानकै रूपमा चिनिने मार्सीधान खेतीको आफ्नै ‘क्यालेन्डर’ छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, चैतमा बीउ रोपिन्छ, असारतिर रोपाइँ हुन्छ र असोजकात्तिकमा भित्र्याइँ हुन्छ। अहिले किसानहरू धानसँगै कोदो, सिमी र फापर पनि भित्र्याउँदै छन्।

गत वर्ष १,५०० हेक्टरमा मार्सीधान रोपिएकोमा यो वर्ष घटेर १,२०० हेक्टरमा पुगेको कार्यालयले जनाएको छ। जुम्लाबाट हरेक वर्ष करिब २५० मेट्रिकटन मार्सीधान जिल्लाबाहिर पठाइन्छ।

अहिले खलङ्गामा मार्सी चामल प्रतिकेजी १८० रुपैयाँमा बिक्री भइरहेको छ। रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढा भन्छन्, “जुम्ला आउँदा पर्यटकहरू हात खाली फर्कँदैनन्, सबैले केही किलो मार्सी चामल लिएरै जान्छन्।”