जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
- ०४ कार्तिक २०८२
- १ मिनेटको पढाई
टोकियो– जापानले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की नेता साने ताकाइची देशको प्रधानमन्त्री बनेकी हुन्।
६४ वर्षीया ताकाइची लामो समयदेखि जापानी राजनीतिमा बलियो उपस्थिति राख्दै आएकी नेत्री हुन्। उनी पूर्व प्रधानमन्त्री सिन्जो आबेकी नजिककी सहयोगी हुन् र आबेको जस्तै रूढीवादी विचारमा विश्वास गर्छिन्।
ताकाइची चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा दर्शन गर्न जाने नेत्रीका रूपमा चिनिन्छिन्। त्यसैले उनलाई ‘चिनियाँ बाज’ भनेर पनि बोलाइन्छ। प्रधानमन्त्री बन्नुअघि उनले अर्थ, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालय सम्हालेकी थिइन्। कूटनीतिमा भने उनको अनुभव सीमित मानिन्छ।
उनी बलियो सेना, आणविक प्रविधि र आप्रवासन नीतिमा कडाइ चाहने नेत्री हुन्। विद्यार्थी जीवनमा हेवी मेटल ब्यान्डकी ड्रमर रहिछिन् र अहिले पनि आफूलाई “वर्कहोलिक” भनेर बताउँछिन् – “म काम गर्छु, फेरि काम गर्छु, अनि फेरि काम गर्छु,” भन्ने उनको भनाइ चर्चित छ।
जापानमा राजनीतिमा महिलाको सहभागिता अझै निकै कम छ। संसदमा महिलाको प्रतिनिधित्व १५ प्रतिशत मात्रै छ। प्रधानमन्त्री बनेपछि ताकाइचीले महिलाको सशक्तीकरणमा जोड दिने वाचा गरेकी छन्। तर नयाँ मन्त्रिपरिषद्मा दुई जना मात्र महिला मन्त्री छन्।
उनका धेरै विचार रूढीवादी छन् – उनी समलिङ्गी विवाहको विरोध गर्छिन् र शाही परिवारमा पुरुष मात्रै उत्तराधिकारी हुने पक्षमा छन्। विश्लेषकहरूले भनेका छन्, ताकाइचीको नेतृत्वले जापानको राजनीति अझ दायाँतिर धकेल्न सक्छ। चीन र दक्षिण कोरियासँगको सम्बन्धमा पनि असर पर्न सक्छ।
तर ताकाइचीले भने, “हामी चीनसँग स्थिर सम्बन्ध राख्नेछौँ, र दक्षिण कोरियासँग सुरक्षा साझेदारी अझ बलियो बनाउँछौँ।”