२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

निर्वाचन भयरहित बनाउन सरकार पूर्ण रूपमा केन्द्रित छ : प्रधानमन्त्री कार्की

निर्वाचन भयरहित बनाउन सरकार पूर्ण रूपमा केन्द्रित छ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष बनाउन पूरा ध्यान दिएको बताएकी छन्।

नेपाल संवत् नयाँ वर्ष ११४६ का अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले ‘जेनजी आन्दोलन’पछि देश सामान्यीकरणतर्फ अघि बढिरहेको बताइन्।

उनले भनिन्, “हामी हरेक दिन राजनीतिक दलहरूसँग संवादमा छौं। परिवर्तनका आवाज उठाउने जेनजी पुस्तासँग पनि निरन्तर सम्पर्कमा छौं। निर्वाचन हाम्रो पहिलो प्राथमिकता हो, तर यसको अर्थ सुशासन र भ्रष्टाचारका विषयमा मौन बस्छौं भन्ने होइन।”

प्रधानमन्त्रीका अनुसार सरकारले संविधानको दायरा भित्रै रही भ्रष्टाचारविरुद्ध र सुशासनका लागि ठोस कदम चालिरहेको छ। “हामीलाई परिणाम चाहिएको हो, प्रचार होइन,” उनले भनिन्।

कार्कीले चुनाव र सुशासन दुवै मोर्चामा सफल हुन नागरिक समाज र सर्वसाधारणको सहयोग आवश्यक रहेको बताइन्।

उनले थपिन्, “भ्रष्टाचार अन्त्य गर्दै विधिको शासन कायम राखेर प्रतिनिधिसभा चुनाव सम्पन्न गर्नु अहिले हाम्रो मुख्य दायित्व हो। यो यात्रामा सबै दल र जनताको साथ आवश्यक छ।”