जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने
- ०५ कार्तिक २०८२
- १ मिनेटको पढाई
टोकियो–जापानमा ‘एकीकृत नेपाली घर: बहु-सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८–१५ तारिखसम्म टोकियोस्थित शिन्जुकुमा महायज्ञ हुने कार्यक्रम तय भएको हो।
एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेका अनुसार महायज्ञको मुख्य उद्देश्य जापानमा रहेका नेपालीबीच एकता, भाइचारा र पुस्तान्तरिक सम्बन्ध मजबुत बनाउनु हो। त्यसैगरी, एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने लक्ष्य पनि महायज्ञको छ।
कार्यक्रममा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नेछन्। हरेक दिन पूजा–पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद वितरण हुनेछ।
पूर्वअध्यक्ष नविन निउरेका अनुसार, जापानको चिवा केनमा जग्गा खरीद भइसकेको छ र सो ठाउँमा बहु-सांस्कृतिक भवन निर्माण गरिनेछ। महायज्ञले नेपाली कला-संस्कृति प्रवद्र्धन गर्दै अर्को पुस्तामा पूर्वीय दर्शनको हस्तान्तरणमा सहयोग पुर्याउने विश्वास आयोजकले लिएका छन्।
एनआरएनए जापानले महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन विभिन्न उपसमितिहरू गठन गरेको जानकारी दिएको छ।