सामाजिक सन्देशसहित ‘मोहर’ अब न्युयोर्कको पर्दामा
- ०५ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क– प्रवासमा रहेका नेपालीबीच कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र ‘मोहर’ आगामी अक्टोबर २५ शनिबारका दिन न्युयोर्कको गुल्शन टेरेसमा प्रदर्शन हुने भएको छ।
चाँदनी क्रियशनको प्रस्तुतिमा र फिल्म मेकर्सको ब्यानरमा निर्मित यो चलचित्र सामाजिक कुप्रथा र सन्देशमूलक कथामा आधारित छ। न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्रको प्रदर्शनबारे जानकारी गराइएको हो।
कार्यक्रमका स्टेकहोल्डर यम मोक्तानले भने, “‘मोहर’ केवल सन्देशमूलक चलचित्र मात्र होइन, यसमा हास्य, शृङ्गार, करुणा र द्वन्द्व रसको उत्कृष्ट समिश्रण रहेको छ। पल शाहसहितका चर्चित कलाकारहरूको जिवन्त अभिनयले दर्शकलाई अत्यधिक प्रभावित गर्ने विश्वास छ।”
फिल्मले नेपालमा ५१औं दिन मनाइसकेको छ भने अमेरिकामा टेक्सासको अस्टिनमा हाउसफुल प्रदर्शन भइसकेको छ। यस्तै, न्यु ह्याम्पसायरमा पनि प्रदर्शन भइसकेको छ र अमेरिकाका अन्य सहर तथा क्यानडामा प्रदर्शनको तयारी भइरहेको जानकारी दिइएको छ।
इभेन्ट प्रमुख चाँदनी लामाले व्यवसायीहरूलाई चलचित्रको प्रायोजन र विज्ञापनमार्फत आफ्ना व्यवसायको प्रचार–प्रसार गरी गुणात्मक विकास गर्न आग्रह गरेकी छन्। अर्का स्टेकहोल्डर टेक गुरुङले प्रदर्शनबाट प्राप्त लाभांश नेपालका असहाय, अशक्त तथा अपाङ्ग बालबालिकाको सहयोगका लागि प्रयोग हुने जानकारी दिए।