२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सिन्धु यूएसए वेलफेयर सोसाइटीको १५ वर्ष: शिक्षादेखि राहतसम्म उल्लेखनीय योगदान

सिन्धु यूएसए वेलफेयर सोसाइटीको १५ वर्ष: शिक्षादेखि राहतसम्म उल्लेखनीय योगदान

न्यूयोर्क- अमेरिकाबाट सक्रिय रहँदै नेपाली समुदायको हितमा काम गर्दै आएको सिन्धु यूएसए वेलफेयर सोसाइटीले आफ्नो १५ वर्षे सेवा यात्रामा शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ।

संस्थाले हालै न्यूयोर्कमा १५औँ वार्षिकोत्सव तथा ‘सिन्धु दीपावली साँझ’ कार्यक्रम सम्पन्न गरेको छ। “Education for Life” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रह्यो। यद्यपि, संस्थाको मुख्य विशेषता भने विगत १५ वर्षको निरन्तर सामाजिक सेवामा देखिन्छ।

सिन्धु यूएसए वेलफेयर सोसाइटीले आफ्नो स्थापना कालदेखि नै सिन्धुपाल्चोक जिल्लाका बिपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा विशेष ध्यान दिँदै आएको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री तथा पोशाक उपलब्ध गराउँदै आएको संस्थाले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग पुर्‍याएको थियो।

सन् २०१५ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक लगायतका जिल्लामा राहत तथा उद्धार सामग्री पुर्‍याउने कार्यमा संस्था अग्रसर बन्यो। अस्थायी आवास, खाद्यान्न, लत्ता-कपडा लगायतका सामग्री वितरण गरिएको थियो। त्यसयता बाढीपहिरोका घटनामा पनि संस्थाले तत्काल राहत पुर्‍याउँदै आएको छ।

संस्थाले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको छ। साथै, अनाथ तथा असाहय भएका बालबालिकाको उपचार र शिक्षाको जिम्मा लिने कार्य पनि संस्थाबाट भइरहेको छ।

अमेरिकामा रहेका नेपालीहरूको सांस्कृतिक पहिचान जगेर्ना गर्न संस्था नियमित रूपमा तिहार, दशैँ, तीज, ल्होसार जस्ता पर्वहरूलाई सामूहिक रूपमा मनाउँदै आएको छ। यसले विशेषगरी दोस्रो पुस्ताका नेपाली मूलका युवामा संस्कृति प्रतिको लगाव बढाएको छ।

संस्थाले आगामी दिनहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ संरचित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ। साथै, ‘Education for Life’ अभियानलाई अझ प्रभावकारी बनाउन दीर्घकालीन छात्रवृत्ति कार्यक्रम, शिक्षक तालिम र विद्यालय पूर्वाधार सुधारमा लगानी बढाउने तयारी भइरहेको संस्थाका उपाध्यक्ष लकेश श्रेष्ठले त्रिवेणी टाइम्ससंगको कुराकानीमा बताएका छन।

उन भने , “प्रवासमा रहेर पनि मातृभूमिप्रति प्रेम र जिम्मेवारीका साथ काम गर्न सकिन्छ भन्ने उदाहरण सिन्धु यूएसए वेलफेयर सोसाइटीले प्रस्तुत गर्दै आएको छ।”