हराउँदै तिहारको मौलिकता, देउसीभैलोमा अङ्ग्रेजी र हिन्दी गीतको रौनक
- ०६ कार्तिक २०८२
- १ मिनेटको पढाई
ढोरपाटन- तिहारको रंग–रौनकसँगै गाउँसहरमा देउसीभैलो गुञ्जिन थालेको छ। तर, वर्षैपिच्छे यसको मौलिकता हराउँदै गएको स्थानीयको गुनासो छ।
पहिले मादल, बाँसुरी, खैजडी र मौलिक गीतको तालमा भैलो खेलिने गर्थ्यो। अहिले भने अङ्ग्रेजी, हिन्दी र पप गीतमा युवाहरू नाचिरहेका छन्। गाउँदेखि बजारसम्म ‘रेकर्डेड’ र्याप र आधुनिक गीतले परम्परागत धुनलाई विस्थापित गरेको छ।
“पहिले सोरठी, मारुनी नाच देखिन्थ्यो, अहिले ती नामै हराउँदै छन्,” निसीखोला–४ का थमबहादुर पुन मगरले भने, “अब त देउसीभैलो पनि डिस्को बनेको छ।”
स्थानीय ज्येष्ठहरू भन्छन् — देउसीभैलोमा प्रयोग हुने मौलिक बाजा र भेषभूषा बिर्सिँदै जाँदा नयाँ पुस्ताले संस्कृति भन्दा पनि ट्रेन्ड पछ्याउन थालेका छन्।
बडिगाड–८ का प्रेमबहादुर काउचाका अनुसार, “अहिले गाउँमा पनि साउण्ड सिस्टममै गीत बजाएर नाचिन्छ। मौलिक गीत, लय र संस्कृतिको भाव हराउँदै गएको छ।”
उनीहरूका अनुसार, कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तह र समुदायले संयुक्त प्रयास नगरे, केही वर्षमै देउसीभैलोको पहिचान हराउने खतरा छ।