२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

व्हाइट हाउसको पूर्व पाखा भत्काइँदै, नयाँ नृत्यशाला बन्ने तयारी

व्हाइट हाउसको पूर्व पाखा भत्काइँदै, नयाँ नृत्यशाला बन्ने तयारी

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्हाइट हाउसको सम्पूर्ण पूर्व पाखा “केही दिनभित्रै” भत्काइने जनाएको छ।

यो निर्णय ट्रम्पले गत जुलाईमा घोषणा गरेको नयाँ नृत्यशाला (बलरुम) निर्माण योजनाको दायरा विस्तार भएको जनाइएको छ।

ट्रम्पले त्यतिबेला भनेका थिए, “यो नयाँ भवनले अहिलेको संरचनामा असर गर्दैन, यो नजिकै हुनेछ र व्हाइट हाउसको ऐतिहासिक स्वरूपको पूर्ण सम्मान गर्नेछ।” तर नयाँ योजनाअनुसार सन् १९४२ मा बनेको पूर्व पाखा- जसलाई परम्परागत रूपमा राष्ट्रपति पत्नी (फर्स्ट लेडी) र उनको टिमको कार्यकक्षका रूपमा प्रयोग गरिन्छ- पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गरिने बताइएको छ।

ट्रम्पले तयार गर्न लागेको नयाँ नृत्यशालामा ९०० जना मानिस अट्ने क्षमता हुनेछ। प्रारम्भिक लागत २५० मिलियन डलर भनिएकोमा अहिले ३०० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ। व्हाइट हाउसका अधिकारीहरूले रोसलिन कार्टरको फर्स्ट लेडी अफिसका ऐतिहासिक भागहरू सुरक्षित रूपमा सङ्ग्रह गरी राष्ट्रिय पार्क सेवा र व्हाइट हाउस ऐतिहासिक संघको सहयोगमा संरक्षणमा राखिएको बताएका छन्।

तर, नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसनले चेतावनी दिंदै भनेको छ, “यो नयाँ नृत्यशाला व्हाइट हाउसको ऐतिहासिक स्वरूपलाई ढाक्नेछ।” संस्थाले कानूनी प्रक्रिया पूरा नहुँदासम्म भत्काउने कार्य रोक्न माग गरेको छ। प्रशासनले भने भत्काउने कार्यका लागि कुनै कानूनी बाध्यता नभएको दाबी गरेको छ। निर्माण परियोजनाको डिजाइन र नेतृत्व राष्ट्रपति ट्रम्प स्वयंले McCrery Architects सँग मिलेर गरिरहेका छन्।

यसअघि ट्रम्पले रोज गार्डन, ओभल अफिस, क्याबिनेट कोठा र पाम कोठामा पनि परिवर्तनहरू गरिसकेका छन्।

डेमोक्र्याट र इतिहासकारहरूले यो कदमलाई “पारदर्शिता बिना गरिएको निर्णय” भन्दै आलोचना गरेका छन्, तर ट्रम्प प्रशासनले यसलाई “व्हाइट हाउसलाई आधुनिक युगमा प्रवेश गराउने ऐतिहासिक सुधार” भनेर व्याख्या गरेको छ।