२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्क मेयरको अन्तिम बहसमा ममदानी र कुओमोबीच तीखो वाकयुद्ध

न्यूयोर्क मेयरको अन्तिम बहसमा ममदानी र कुओमोबीच तीखो वाकयुद्ध

न्यूयोर्क- न्यूयोर्क मेयर पदका उम्मेदवार जोहरान ममदानी र पूर्व गभर्नर एन्ड्र्यू कुओमोबीच बुधबार राति भएको अन्तिम टेलिभिजन बहस तीखो वाकयुद्धमा रूपान्तरण भएको छ।

९० मिनेट लामो बहसमा स्वतन्त्र उम्मेदवार कुओमोले ३४ वर्षीय ममदानीलाई “बच्चा”, “नाटकबाज” र “विभाजन ल्याउने व्यक्ति” भन्दै आक्रमण गरे। उनले भने, “ट्रम्पले उसलाई सजिलै ढाल्नेछ, ऊ नेतृत्वका लागि तयार छैन।”

ममदानीले जवाफमा कुओमोमाथि “हताश र अतीतमा बाँचेको व्यक्ति” भन्दै प्रहार गरे। उनले भने, “उनी ट्रम्पको कठपुतली हुन्, जसले केवल शक्ति जोगाउने प्रयास गरिरहेका छन्।”

जनमत सर्वेक्षणमा ममदानी अग्रस्थानमा रहेका बेला भएको अन्तिम बहसमा तेस्रो उम्मेदवार रिपब्लिकन कर्टिस स्लिवाले पनि दुवैलाई व्यंग्य गरे।

बहसमा आवास, शिक्षा, आप्रवासन र जीवनयापन खर्च प्रमुख विषय बने। ममदानीले संघीय आप्रवासन विभाग (ICE) लाई “लापरवाही संस्था” भन्दै सहरसँगको सहकार्य तोड्ने घोषणा गरे।

इजरायल–गाजा विषयमा पनि विवाद चर्कियो। कुओमोले ममदानीमाथि यहुदी विरोधी नारा ननिन्दिएको आरोप लगाए भने ममदानीले “धार्मिक घृणालाई राजनीतिक हतियार बनाउने काम नगरिने” बताए।

ममदानीले बहसकै क्रममा कुओमोमाथि यौन दुर्व्यवहार र कोभिड महामारीका बेला वृद्धाश्रममा मृत्यु लुकाएको आरोप पनि दोहोर्याए।

अघिल्लो सर्वेक्षणअनुसार ममदानीले दोहोरो अंकको अग्रता कायम राखेका छन्। आगामी सातादेखि प्रारम्भिक मतदान सुरु हुँदैछ।