२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पोखरामा भाइटीका महोत्सव : पर्यटकहरू पनि झुमे नेपाली संस्कृतिमा

पोखरामा भाइटीका महोत्सव : पर्यटकहरू पनि झुमे नेपाली संस्कृतिमा

काठमाडौं – तिहारको अवसरमा आज लेकसाइडमा भएको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी विदेशी पर्यटक सहभागी भए। होटल सङ्घ पोखरा नेपालले आयोजना गरेको कार्यक्रममा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाए।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, यसपालिको महोत्सव पर्यटकको उत्साहका कारण विशेष बनेको छ। उनले भने, “संस्कृति र पर्यटन एकअर्काका साथी हुन्, हामीले यिनलाई जोड्ने काम गरिरहेका छौँ।”

‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरूले सहभागी पर्यटकलाई सप्तरङ्गी टीका लगाइदिएका थिए। टीकासँगै उनीहरूलाई ढाका टोपी, पछ्यौरा र नेपाली परिकार- सेलरोटी, अचार र फलफूलको सत्कार गरिएको थियो।

अष्ट्रेलियाकी पर्यटक एनीले भने, “नेपालमा धेरै पटक आएकी छु, तर भाइटीका समारोहमा पहिलोपटक सहभागी हुन पाउँदा अद्भुत लाग्यो। नेपाली संस्कृतिको आत्मीयता साँच्चै विशेष छ।”

सुवेदीका अनुसार, पछिल्ला वर्षमा पर्यटक आगमन घट्दै गए पनि यस्ता सांस्कृतिक महोत्सवले पर्यटनलाई पुनः उत्साहमा फर्काउन सहयोग पुर्‍याउनेछन्।