२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

कोप–३० मा नेपालका नौ एजेन्डा, हिमाल संरक्षणमा जोड

कोप–३० मा नेपालका नौ एजेन्डा, हिमाल संरक्षणमा जोड

काठमाडौँ- जलवायु परिवर्तनको ठूलो बैठक कोप-३० नजिकिँदै छ, र नेपालले आफ्ना एजेन्डा तयार पार्दै छ। यो सम्मेलन ब्राजिलको बेलेममा कात्तिक २४ देखि मंसिर ५सम्म हुने छ।

नेपालले सगरमाथा संवादका निष्कर्षलाई मुख्य एजेन्डा बनाउँदै हिमाल संरक्षण, हानिनोक्सानी क्षतिपूर्ति, कार्बन वित्त, अनुकूलन र प्रविधि हस्तान्तरण जस्ता विषयमा आवाज उठाउने तयारी गरिएको छ।

वन तथा वातावरण मन्त्रालयले भन्छ- नेपालले पछिल्लो वर्षहरूमा भोगेको डुबान, पहिरो, मनसुनको अनियमितता जस्ता हानिनोक्सानीका उदाहरण प्रस्तुत गर्दै नुक्सानीको क्षतिपूर्तिमा बढी दबाब दिनेछ।

जलवायु विश्लेषकहरूले पनि सुझाव दिएका छन् कि नेपालजस्ता देशले मिलेर हानिनोक्सानी कोषमा पर्याप्त रकम सुनिश्चित गराउन लड्नु जरुरी छ। अहिले आवश्यक रकमको दसौँ भाग मात्रै उपलब्ध हुने अवस्था छ।

यसपटक नेपालको सहभागिता मन्त्रिस्तरीय स्तरमा हुने सम्भावना छ। सम्भवत: कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले प्रतिनिधिमण्डल नेतृत्व गर्नेछन्।

नेपाल यसअघि पाँच पटक सम्मेलनमा राष्ट्र वा प्रधानमन्त्री स्तरको नेतृत्वमा सहभागी भइसकेको छ।