छ महिनामा परिणाम देखिन्छ , रुसी प्रतिबन्धबारे पुटिनलाई ट्रम्पको जवाफ
- ०७ कार्तिक २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया जनाउँदै त्यसको प्रभाव छ महिनाभित्र प्रस्ट हुने दाबी गरेका छन्।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, “उहाँले (पुटिन) जस्तो महसुस गर्नुभो, म खुसी छु। प्रतिबन्धले कसरी काम गर्छ, अबको छ महिनामा सबैले देख्नेछौँ।”
अमेरिकाले रोजनेफ्ट र लुकोइललगायत रूसी ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि पुटिनले त्यसलाई ‘प्रतिकूल कदम’ भन्दै रूसको अर्थतन्त्रमा खासै असर नपर्ने टिप्पणी गरेका थिए।
यसै कारबाहीपछि तेलको मूल्य विश्व बजारमा बढेको छ। आपूर्ति घट्ने आशंकाले व्यापारीहरू बेचैन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले पुटिनसँगको शिखर बैठक रद्द भएपछि पुटिनले “द्वन्द्वभन्दा संवाद नै उत्तम” बताएका थिए। तर, ट्रम्पले भने
“हामीले चाहेजस्तो प्रगति नभएकाले बैठक रोकेका हौँ। भविष्यमा भेट हुन सक्छ,”
भनेर स्पष्ट पारे।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रतिबन्धलाई ‘उचित र आवश्यक’ बताउँदै यसले रुस–युक्रेन शान्ति प्रक्रिया ढिलो भएकोप्रति अमेरिकाको निराशा झल्काएको बताइन्।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार प्रतिबन्धपछि ती कम्पनीका अमेरिकास्थित सम्पत्ति फ्रिज गरिनेछ र अमेरिकी नागरिक वा संस्थालाई व्यापार निषेध लागू हुनेछ।
पुटिनले भने अमेरिका सधैं दबाबको हतियार प्रयोग गर्ने गरेको आरोप लगाउँदै यदि दुवै देश दबाब छाडेर संवादतर्फ उन्मुख भए सहयोगका धेरै सम्भावना रहेको टिप्पणी गरेका छन्।