२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘बेइमान विज्ञापन’ विवादपछि ट्रम्पले गरे क्यानाडासँगको भेट अस्वीकार

‘बेइमान विज्ञापन’ विवादपछि ट्रम्पले गरे क्यानाडासँगको भेट अस्वीकार

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग एसिया भ्रमणका क्रममा भेट हुने सम्भावना अस्वीकार गरेका छन्।

ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि पत्रकारले सोधेको प्रश्नमा उनले भने, “होइन, भेट्ने कुनै योजना छैन।” यसअघि क्यानाडाले पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको भाषणलाई तोडमोड गरी बनाइएको एउटा विज्ञापन अमेरिकी टेलिभिजनमा प्रसारण गरिरहेको भनी ट्रम्पले आरोप लगाउँदै त्यसलाई ‘बेइमान र फोहोरी खेल’ भनेका थिए।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “रेगन फाउन्डेसनले पुष्टि गरिसकेको छ। त्यो विज्ञापन झुटाे हो। क्यानाडाले यसलाई अदालतहरूलाई प्रभावित पार्न प्रयोग गर्‍यो।” उनका अनुसार क्यानाडाको यस्तो कदमका कारण दुवै देशबीचका सबै व्यापार वार्ता स्थगित गरिएको छ।

यता, ओन्टारियोका प्रिमियर डग फोर्डले विवाद चर्किएपछि विज्ञापन अभियान सोमबारदेखि रोक्ने निर्णय भएको बताए। तर सप्ताहन्तभर भने एमएलबी विश्व शृंखलाका खेलमा विज्ञापन देखिने उनले स्पष्ट पारे।

क्यानाडाको ओन्टारियो सरकारले भुक्तान गरेको भनिने यो अभियानमा करिब ७ करोड ५० लाख अमेरिकी डलर खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।