राष्ट्रपति ट्रम्पको एसिया भ्रमण प्रारम्भ, सी जिनपिङसँग उच्चस्तरीय वार्ता र किमसँग सम्भावित भेटप्रति उत्सुकता
- ०८ कार्तिक २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नुभएको छ। चीनसँगको व्यापार विवाद समाधान प्रमुख उद्देश्य रहेको छ।
ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरको व्यापार वार्ता गर्ने कार्यक्रम छ। प्रस्थानअघि पत्रकारसँग कुरा गर्दै उनले भने,“म सीसँग धेरै महत्त्वपूर्ण बैठकको अपेक्षा गर्छु। चीनले सम्झौता गर्न चाहन्छ।”
यस क्रममा उत्तर कोरियाली नेता किम जोङ–अनसँग भेटका सम्भावनाबारे पनि उनले संकेत गरेका छन्।
“म त्यसका लागि खुला छु,” ट्रम्पले भने।
ट्रम्पको पहिलो गन्तव्य मलेसिया हुनेछ। उनले आसियान शिखर सम्मेलनमा सहभागी हुँदै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नेछन्।
त्यसपछि जापान पुगेर प्रधानमन्त्री साने ताकाइचीसँग भेट गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य आकर्षण दक्षिण कोरियामा रहनेछ। ट्रम्पले राष्ट्रपति ली जे–म्युङसँग छलफलपछि एपेक व्यापार सत्रमा सम्बोधन गर्नेछन्। बिहीबार सी जिनपिङसँग प्रत्यक्ष वार्ता तय गरिएको छ। दुवै नेताबीच ट्रम्प ह्वाइट हाउस फर्किएपछि यो पहिलो भेट हो।
विवादित मुद्दा, अमेरिकी भन्सार शुल्क, चीनको दुर्लभ पृथ्वी खनिज निर्यात प्रतिबन्ध र फेन्टानिल तस्करी रोकथाम वार्ताको मुख्य विषय रहने अनुमान छ।
ट्रम्पले भने, “फेन्टानिलले अमेरिकामा ठूलो क्षति पुर्याएको छ। चीनले कदम चाल्नुपर्छ।”