एफएटिएफ समीक्षाः सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा
- ०८ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – नेपाल अझै सम्पत्ति शुद्धीकरण निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’मा रहेको छ। अन्तर्राष्ट्रिय निकाय एफएटिएफले शुक्रबार सम्पन्न बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास गरिरहेपनि अझै पर्याप्त नभएको बताएका छन्।
नेपालले फेब्रुअरी २०२५ मा आफ्नो सम्पत्ति शुद्धीकरण प्रणाली बलियो बनाउन उच्चस्तरीय प्रतिबद्धता देखाएको थियो। तर एफएटिएफले भनेको छ – रणनीतिक सुधार थाल्न र स्पष्ट कार्ययोजना कार्यान्वयनमा लैजान अझै जरुरी छ।
एफएटिएफले गैर–वित्तीय क्षेत्र, हुण्डी कारोबार, क्यासिनो, गहना पसल, घरजग्गा जस्ता क्षेत्रमा जोखिम उच्च रहेको देखाएको छ। अनुसन्धान र अभियोजन कमजोर देखिएको, कानुनी सुधार भएपनि कार्यान्वयनमा चुकेको र संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको पनि औंल्याएको छ।
नेपाल पहिलो पटक ग्रे लिस्टमा फागुन २०८१ मा परेको थियो। त्यसअघि सन् २०१४ मा सूचीबाट बाहिर आएको थियो।
विशेषज्ञहरू भन्छन्, “ग्रे लिस्टमा पर्नुले नेपालको वित्तीय प्रणालीमा अन्तर्राष्ट्रिय विश्वास घटाउँछ। वैदेशिक लगानी र सहायता प्रभावित हुन सक्छ, हुन्डी कारोबार बढेर अर्थतन्त्र कमजोर हुन सक्छ।”
एफएटिएफले नेपालसँगै अल्जेरिया, अङ्गोला, बुल्गेरिया, केन्या, भेनेजुएला लगायत देशको समीक्षा गरेको थियो। बुर्किना फासो, मोजाम्बिक, नाइजेरिया र दक्षिण अफ्रिकालाई समीक्षा पछि सूचीबाट हटाइएको छ।