२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्युयोर्क सिटीमा प्रारम्भिक मतदानको उत्साह : पहिलो दिनमै ७९ हजारभन्दा बढी मतदाताको सहभागिता

न्युयोर्क सिटीमा प्रारम्भिक मतदानको उत्साह : पहिलो दिनमै ७९ हजारभन्दा बढी मतदाताको सहभागिता

न्युयोर्क – न्युयोर्क सिटीमा नयाँ मेयरको चयनका लागि सुरु गरिएको प्रारम्भिक मतदानको पहिलो दिन ७९ हजार ४०९ मतदाताले मतदान गरेको सिटी बोर्ड अफ इलेक्शनले जनाएको छ। पाँचै बोरोमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।

सबैभन्दा धेरै मतदान म्यानह्याटनमा भएको छ, जहाँ २४ हजार ४६ मतदाताले मतदान गरे। ब्रुकलिनमा २२ हजार १०५, क्विन्समा १९ हजार ४५, ब्रोंक्समा ७ हजार ७९३ र स्टेटन आइसल्याण्डमा ६ हजार ४२० जनाले आफ्नो मताधिकार प्रयोग गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ।

मेयर पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। सेप्टेम्बरमा उम्मेदवारी फिर्ता लिएका पूर्व मेयर एरिक एडम्सले हालै स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यू कुओमोलाई समर्थन जनाएपछि चुनावी समीकरण झनै रोचक बनेको छ। कुओमोका मुख्य प्रतिस्पर्धी डेमोक्र्याट जोहान मामदानी र रिपब्लिकन कर्टिस स्लिवा छन्।

प्रारम्भिक मतदान नोभेम्बर २ सम्म जारी रहनेछ। बोर्ड अफ इलेक्शनका अनुसार दिनअनुसार मतदान केन्द्रको समय फरक रहनेछ।

मुख्य निर्वाचन नोभेम्बर ४ का दिन बिहान ६ बजेदेखि राति ९ बजेसम्म मतदान गर्न सकिनेछ।

चुनाव विश्लेषकहरूका अनुसार प्रारम्भिक दिनमै देखिएको सहभागिताबाट मतदाता उत्साह उच्च रहेको आकलन गरिएको छ, जसले न्युयोर्कको नयाँ नेतृत्व चयनमा निर्णायक प्रभाव पार्नेछ।