छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
- १० कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिँदै छठ मनाइँदै छ। बिहानै स्नान गरेर निर्जल व्रत बसेका बर्तालुहरू बेलुकी सूर्यलाई पूजा गर्छन्।
यो चाड कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। धर्मग्रन्थअनुसार पाण्डवले गुप्तवास सफल होस् भनेर सूर्यदेवको आराधना गरेपछि छठ सुरु भएको मानिन्छ। सूर्य शक्तिविना जीवन सम्भव छैन भन्ने मान्यतामा यो पर्व आधारित छ।
बिहीबार (सप्तमी) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन हुन्छ। यसरी अघ्र्य दिँदा सन्तान र परिवारको कल्याण हुने जनविश्वास छ। काठमाडौँका गुह्येश्वरी- गौरीघाट, कमलपोखरी र वागमती किनार सजिएर तयार छन्। धेरैले चोखो खानपान र सात्विक भोजन गरेर व्रत बस्ने परम्परा कायम छ।
छठ पहिले तराईमा मात्रै सीमित थियो, अहिले देशभर राष्ट्रिय चाडजस्तै मनाइन्छ। सरकार यस दिन सार्वजनिक बिदा पनि दिन्छ।