अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को , व्यवसायी भन्दछन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
- १० कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- अन्नपूर्ण आधार शिविर र मुस्ताङमा अहिले पर्यटकको लर्को रोकिएको छैन। दसैँ–तिहारको लामो बिदासँगै विद्यार्थीदेखि विदेशबाट फर्केका नेपालीसम्म सबैको रोजाइ यतै परेको छ।
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका होटलहरू भरिइसक्दा व्यवसायीहरू ‘यति धेरै मान्छे आउलान् भन्ने कल्पनै थिएन’ भन्दै हैरान छन्। अन्नपूर्ण बेस क्याम्पतर्फ मात्रै दैनिक पाँच सयभन्दा धेरै पर्यटक पुगिरहेका छन् भने मुस्ताङतर्फ करिब आठ हजारसम्म पुगेको स्थानीयहरू बताउँछन्।
मुक्तिनाथ, कागबेनी, लोमान्थाङ, ढुम्बाताल र मराङ जस्ता गन्तव्य अहिले झनै तातिएका छन्। साहसिक ट्रेक मन पराउने धेरै जना ४१९० मिटर उचाइको आधार शिविर चढेर फर्किरहेका छन्।
“होटलहरूको क्षमता भन्दा बाहिर पुगिसक्यो। पैसा लिएर आएका पाहुनाले खाने–बस्ने जगह खोजेर अलमल भएको छ,” बेनीका व्यवसायीहरू भन्छन्। बाध्य भएर प्रशासन र होटल संघले आसपासका जिल्लामा समेत बसोबास मिलाइरहेका छन्।
युवाहरूले सामाजिक सञ्जालमा फोटो- भिडियो पोष्ट गर्न थालेपछि झन् लोकप्रिय बनेको उद्योग वाणिज्य सङ्घका अधिकारीहरू बताउँछन्। यही भीडले होटल विस्तार र यातायात सुधार गर्न राज्यलाई दबाब पनि दिएको छ।