यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण
- १० कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – कञ्चनजङ्घा हिमाल आसपासका क्षेत्र अहिले विदेशी पाहुनाले भरिएको छ। घुन्सा चेकपोस्टका टाँसी तेन्जिङका अनुसार भदौको तेस्रो सातादेखि अहिलेसम्म ३०० जना जति विदेशी पर्यटक आएर क्षेत्र घुमिरहेका छन्।
यतिबेला यहाँका विभिन्न हिमाल चढ्ने टोली पनि सक्रिय छन्। असोजको दोस्रो साता फ्रान्सका बेन्जामिन र निकोलसले ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक चढेर फर्किए। त्यसैगरी चिलीका एक आरोहीले कञ्चनजङ्घाको काखमै पर्ने पाथीभरा हिमाल सफलतापूर्वक चढे।
सात हजार ७१० मिटर उचाइको कुम्भकर्ण हिमाल चढ्न पनि फ्रान्सका तीन जना पर्वतारोही आधारशिविरतिर पुगेका छन्। कुम्भकर्णमा पहिलो आरोहण विसं २०१९ मा भएको थियो।
गत वर्ष एकपछि अर्को गर्दै शार्फु–५ र शार्फु–४ हिमाल पनि पहिलोपटक चढिएको थियो। ती आरोहणमा दक्षिण कोरियाली टोलीदेखि नेपाली लाक्पाछिरिङ शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठसम्म सहभागी थिए।
पर्यटन विभागका अनुसार गत वसन्तमा मात्र ४१ जनाले ८ हजार ५५६ मिटर अग्लो कञ्चनजङ्घाको चुचुरो छुने सफलता पाए। सोही आरोहणबाट सरकारले झण्डै २ करोड रुपैयाँ रोयल्टी उठाएको थियो।
शेर्पाका भनाइअनुसार– “मङ्सिर १५ सम्म याम चल्छ। अझै धेरै पाहुना आइरहेका छन्।”