न्युयोर्क मेयर चुनाव : नयाँ सर्वेक्षणमा मामदानिको अग्रता घट्दै, कुमोको समर्थन तीव्र बढोत्तरी
- ११ कार्तिक २०८२
- २ मिनेटको पढाई
न्युयोर्क – मेयर चुनाव अब मात्र एक हप्ता बाँकी छ । राजनीतिक माहोल दिन प्रतिदिन तातिरहेको बेला सोमबार सार्वजनिक गरिएको नयाँ सर्वेक्षणले चुनावी दौड अझ रोचक मोडतर्फ घुमेको देखाएको छ।
सफोक विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणमा डेमोक्र्याट उम्मेदवार जोहरान मामदानीको अग्रता स्वतन्त्र उम्मेदवार एन्ड्र्यू कुमोसँग १० अंकमा सीमित भएको छ। गत महिनाकाे सर्वेक्षणमा मामदानी २० अंकले अघि रहेका थिए। यसले चुनाव अन्तिम क्षणसम्म कठोर प्रतिस्पर्धा हुने संकेत दिएको छ।
सर्वेक्षणमा मामदानी ४४ प्रतिशत, कुमो ३४ प्रतिशत र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा ११ प्रतिशतमा उभिएका छन्। विशेष रूपमा हिस्पानिक र स्वतन्त्र मतदाताबीच कुमोको समर्थन बलियो हुँदै गएको देखिन्छ । गत महिना हिस्पानिक मतदातामा ३० अंकले पछि परेका कुमो अझै एक अंकले अघि पुगेका छन्। त्यस्तै, स्वतन्त्र मतदाताबीच १८ अंकको घाटा उल्टाएर १० अंकको अग्रता कायम गरेका छन्।
विश्लेषकहरूका अनुसार स्लिवा “किंगमेकर”को भूमिकामा पुगेका छन्। सर्वेक्षणमा स्लिवालाई रोजेका मतदातामध्ये ठूलो हिस्सा दोस्रो विकल्पका रूपमा कुमोलाई समर्थन गर्ने मनस्थितिमा छन्। सफोक पोलका निर्देशक डेविड पालेओलोगोसले भने, “यो चुनाव कुनै ठूला नेताहरूको हस्तक्षेपले होइन, स्लिवाका मतदाताको निर्णयले मोडिने देखिएको छ।”
यसैबीच, छिटो मतदानमा उत्साह बढ्दो छ। न्युयोर्क सिटी निर्वाचन बोर्डका अनुसार, म्यानहट्टन र ब्रुकलिनमा सर्वाधिक मतदान भएको छ भने क्विन्स, ब्रङ्क्स र स्टाटेन आइल्याण्डमा पनि मतदाताकाे सहभागिता स्थिर देखिएको छ।
अन्य सर्वेक्षणहरूले पनि प्रतिस्पर्धा चर्किँदै गएको देखाएका छन्। कतिपय सर्वेक्षणमा मामदानीको अग्रता अझै फराकिलो भए पनि, कुमोले पछिल्लो हप्ताकाे चरणमा समर्थन तीव्र गतिमा बढाइरहेका छन्। राजनीतिक बजार र पूर्वानुमानहरूले भने मामदानीलाई नै जितको प्रमुख दावेदार देखाइरहेका छन्।
तीनै उम्मेदवार आफ्ना-आफ्ना मुद्दा लिएर मैदानमा सक्रिय छन्। मामदानी किफायती आवास र सवारी भाडा निःशुल्कको मागसहित प्रगतिशील एजेन्डामा केन्द्रित छन्। कुमोले सुरक्षा, स्थिरता र अनुभवलाई प्राथमिकता दिइरहेका छन् भने स्लिवा अपराध नियन्त्रणमा कडा नीति लिएर मत मागिरहेका छन्।
चुनाव नोभेम्बर ४ मा हुन लागेको छ। अन्तिम एक हप्तामा हुने राजनीतिक उथलपुथलले नै न्युयोर्क सिटीको नेतृत्व कसले सम्हाल्ने भन्ने निर्णय गर्नेछ।