ट्रम्प प्रशासनले ‘डिपोर्टेशन ड्राइभ’ कडा बनाउँदै : एकैपटक दर्जनौँ ICE अधिकारी सार्ने तयारी
- ११ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीविरुद्धको कारबाहीलाई थप तीव्र बनाउन आव्रजन तथा कस्टम्स एनफोर्समेन्ट (ICE) मा ठूलो नेतृत्व फेरबदलको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
CBS News का अनुसार, देशभरका करिब एक दर्जनजति क्षेत्रीय कार्यालय प्रमुखहरूलाई स्थानान्तरण गरिने योजना बनाइएको छ। अधिकारीहरूलाई पद नझारिकनै नयाँ जिम्मेवारीमा पठाइने र केही स्थानमा सीमाप्रहरी (CBP) का वर्तमान वा पूर्व अधिकारीहरूलाई नेतृत्वमा ल्याइने चर्चासमेत छ।
व्हाइट हाउसले पछिल्ला महिनाहरूमा सीमा सुरक्षा बललाई ठूला सहरहरू—शिकागोदेखि लस एन्जलससम्म—गैरकानुनी आप्रवासीहरू पक्राउ गर्न सक्रिय रूपमा पठाउँदै आएको छ। होम डिपोको पार्किङदेखि कार वाससमेत छानछान गरेर गरिएको धरपकडमा स्थानीय स्तरमा आलोचना बढेको छ।
आलोचकहरूले “क्रिमिनल नभएका आप्रवासीलाई पनि लक्षित गरिएको” आरोप लगाइरहेका बेला ट्रम्प प्रशासन भने “गम्भीर अपराधी आप्रवासी हटाउने प्राथमिकता” को दाबी दोहोर्याइरहेको छ।
भित्रैका स्रोतहरूका अनुसार, ICE का केही वरिष्ठ अधिकारी सीमा प्रहरीको सहरमा भइरहेको कठोर कारबाहीबाट उत्पन्न जनआक्रोशप्रति असन्तुष्ट देखिएका छन्। तर प्रशासनका कडा धारका नीति निर्माता–स्टीफन मिलरसहितले दैनिक कम्तिमा ३,००० पक्राउ गर्न दबाब दिँदै आएका छन्।
हाल ICE ले दोस्रो ट्रम्प कार्यकालमा २६०,००० भन्दा बढी पक्राउ गरिसकेको आँकडा सार्वजनिक भएको छ, जसअनुसार दैनिक औसत करिब ९०० मात्रै पुगेको छ—लक्ष्यभन्दा निकै कम।
ICE मा नेतृत्व फेरबदल गत वर्षदेखि लगातार भइरहेकाले संस्थागत अस्थिरता झनै बढेको विश्लेषकहरूको टिप्पणी छ। संस्थामा २०१७ यतादेखि सिनेटले अनुमोदन गरेको स्थायी निर्देशक नै छैन।