२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्कमा राई समुदायद्वारा देउसी–भैलोसहित बलिहाङ चाड मनाइयो

न्यूयोर्कमा राई समुदायद्वारा देउसी–भैलोसहित बलिहाङ चाड मनाइयो

न्यूयोर्क- युनाइटेड किरात राई संगठन अफ अमेरिका (यूकेआरओए) यायोख्खा न्यूयोर्क च्याप्टरले न्यूयोर्कको ज्याक्सन हाइट्स, क्विन्समा किरात राईहरूको महान चाड बलिहाङ चाडको अवसरमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष राईले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बलिहाङ चाडले विदेशमा बसोबास गर्ने किरात समुदायबीच आपसी एकता र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा यूकेआरओए न्यूयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राईले स्वागत मन्तव्य प्रस्तुत गरिकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि जनजाति महासंघ नेपालका पूर्व उपाध्यक्ष डण्डु धोम्पोले पछाडि पारिएका समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिका संरक्षण तथा विकासमा सरकारले अझै पर्याप्त ध्यान नदिएको धारणा व्यक्त गरेका थिए। उनले अहिले सम्म प्राप्त अधिकार संसारभर छरिएका आदिवासी जनजातिको लगातार संघर्षको उपलब्धि भएको उल्लेख समेत गरे।

त्यस्तै विशेष अतिथि फिप्ना (आदिवासी जनजाति महासंघ अमेरिका) का अध्यक्ष तोरण गुरुङले बलिहाङ चाडको महत्व बारे प्रकाश पार्दै सहभागी सबैलाई शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी हामी नेपाली ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्यूयोर्क नगर प्रमुख (मेयर) का सल्लाहकार तथा दिल कुमारी फाउण्डेशनका संस्थापक नवराज केसीले व्यस्त सहर न्यूयोर्कमा पनि समुदायले आफ्नै संस्कृति र परम्परा जोगाउँदै चाडपर्व मनाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा, क्षेत्रीय उपाध्यक्ष पूर्ण मगर, महिला उपाध्यक्ष तथा यूकेआरओए केन्द्रिय महासचिव र पूर्व न्यूयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ राईले पनि कविता मार्फत शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय कलाकार गोबिन्द राई, यूकेआरओएका पूर्व केन्द्रिय अध्यक्ष प्रभाकर राई, मार्शल आर्ट्स संघका संस्थापक पर्खी खालिङ राई, फिप्नाका कोषाध्यक्ष कृष्ण महर्जन, किरात याक्थुङ चुम्लुङ अमेरिकाका केन्द्रिय अध्यक्ष पुरन लिम्बु, तथा हेभनली पाथ अमेरिकाका पूर्व केन्द्रिय अध्यक्ष सुकराज लिम्बु (सुकु लम्दाली राई) लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सोही अवसरमा चार जना नयाँ सदस्यहरूलाई स्वागत समेत गरिएको थियो। कलाकार अनिसा राई र नविना लिम्बुले नृत्य प्रस्तुत गर्दै वातावरणलाई झनै रमाइलो बनाएका थिए।

कार्यक्रम यूकेआरओए न्यूयोर्क च्याप्टरकी महासचिव सिर्जना राईले सञ्चालन गरेकी थिइन्।