२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

निरन्तर हिमपात :  अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

काठमाडौं- म्याग्दीको अन्नपूर्ण आधार शिविरमा हिमपातपछि फसेका १७ जना विदेशीसहित ७२ जना पर्यटकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–४ को आधार शिविरमा सोमबार रातिदेखि परेको वर्षा र हिउँका कारण बाटो बन्द भएपछि उनीहरू फर्कन नसकेका थिए।

शसस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको टोलीले स्थानीय उद्धारकर्मीहरूसँग मिलेर बिहीबार बिहान सबैलाई हुमखोलासम्म झारेको हो। गुल्म प्रमुख डिएसपी लिलाबहादुर भुजेलका अनुसार सबै पर्यटक सकुशल छन्।

“केही ठाउँमा हिउँले बाटो बन्द हुँदा डोरीको सहायताले उद्धार गर्नुपर्‍यो,” उनले भने, “अब पदमार्ग खुलाइएको छ।”

म्याग्दीका सिडिओ बद्रीप्रसाद तिवारीका अनुसार मौसम जोखिमपूर्ण भएकाले कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक लगाइएको छ। प्रशासनले खोप्रालेक, पुनहिल, मोहरेडाँडा लगायत क्षेत्रमा नजान पनि आग्रह गरेको छ।

यसैबीच धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ जाँदै गरेका ३ जना बेलायती महिला र १२ जना नेपाली गाइड तथा मजदुर पनि हिउँमा फसेका छन्। उनीहरूलाई उद्धार गर्न नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली पठाइएको मुस्ताङका सिडिओ विष्णुप्रसाद भुषालले जानकारी दिए।

सेनानी प्रशान्त बिष्टको नेतृत्वमा गएको १५ सदस्यीय टोली अहिले मार्फाको आलुबारी पुगेको छ र मौसम ठिक रहे दिउँसोसम्म पर्यटकहरूसँग सम्पर्क हुने अनुमान गरिएको छ।