२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘हिडन भ्याली’मा फसेका १५ जना पर्यटकको उद्धार

‘हिडन भ्याली’मा फसेका १५ जना पर्यटकको उद्धार

काठमाडौं – धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन्।

धवलागिरी गाउँपालिका–४ मुदी हुँदै मुस्ताङको मार्फा जाँदै गर्दा सोमबार रातिदेखिको लगातार हिमपातले बाटो बन्द भएपछि उनीहरू फसेका थिए। उद्धार गरिएका मध्ये ३ जना बेलायती पर्यटक र १२ जना नेपाली पथप्रदर्शक र मजदुर छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालका अनुसार जोमसोमबाट गएको उद्धार टोली र फसेका पर्यटकहरूको भेट करिब ४,९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भएको हो। त्यसपछि सबैलाई सुरक्षित रूपमा जोमसोम ल्याइएको छ।

“पर्यटक पठाउने कम्पनीले समस्या भएको भन्दै उद्धारको अनुरोध गरेपछि बुधबार टोली पठाएका थियौं,” उनले भने, “सवै पर्यटक सकुशल छन्।”

काठमाडौँको सेक्रेट हिमालय ट्राभल एजेन्सीमार्फत आएका तीन बेलायती महिला पर्यटक — मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स — ले मंगलबार साँझ हेलिकप्टर उद्धारको माग गरेका थिए। पथप्रदर्शकले स्याटेलाइट फोनमार्फत पनि उद्धार टोलीलाई खबर गरेका थिए।

जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त बिष्टको नेतृत्वमा १५ जना तालिमप्राप्त सुरक्षाकर्मी उद्धारमा खटिएका थिए।