भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
- १४ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- भिजिट भिसामा विदेश जाने नेपालीका लागि अब प्रक्रिया धेरै सजिलो बनाइएको छ। सरकारले अहिले लागु भएको ६ बुँदे मापदण्ड र पुराना कडा नियम खारेज गर्दै नयाँ सहज प्रावधान लागू गरेको हो।
अध्यागमन विभागले आज पत्रकार सम्मेलन गरेर भन्यो — अब जो कोही नेपालीले राहदानी, भिसा (वा ‘अन अराइभल’ भिसा हुने देशका लागि प्रमाण), हवाई टिकट र भ्रमणको कारण लेखिएको घोषणा पत्र पेस गरे पुग्नेछ। यी कागजात पूरा भएमा उनीहरूलाई अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति दिइनेछ।
विभागका अनुसार यो व्यवस्था आजैदेखि लागू भएको छ। विभागले सबै नेपालीलाई “कुनै बिचौलियाको पछि नलाग्न र आफ्नो गन्तव्यबारे पूर्ण जानकारी राखेर यात्रा गर्न” अपिल गरेको छ।
यो निर्णय सरकारले भिजिट भिसाका नाममा भइरहेका ठगी, मानब तस्करीजस्ता गतिविधि नियन्त्रण गर्ने उद्देश्यले लिएको हो। साथै, नागरिकको स्वतन्त्र आवतजावत गर्ने अधिकार सुरक्षित रहोस् भन्ने सिफारिस उच्चस्तरीय समितिले पनि गरेको थियो।
अध्यागमन विभागले भनेको छ — “हामीले अब नियमन र सहजीकरणबीच सन्तुलन राख्दै सुशासन कायम गर्ने र यात्रुहरूलाई सहज र सुरक्षित यात्रा वातावरण दिने प्रयास गरिरहेका छौं।”
अबदेखि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले पनि यो नयाँ व्यवस्था सबै नागरिकलाई जानकारी गराउने जिम्मेवारी लिने छन्।