२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्युयोर्कमा भीषण वर्षा र हावाहुरी : पानीले भरिएका बेसमेन्टमा दुई जनाको मृत्यु

न्युयोर्कमा भीषण वर्षा र हावाहुरी : पानीले भरिएका बेसमेन्टमा दुई जनाको मृत्यु

न्युयोर्क- न्युयोर्क सिटीमा बिहीबार लगातार घण्टौँसम्म परेको मुसलधारे वर्षा र तीव्र हावाका कारण आएको अचानक बाढीले दुई जनाको ज्यान गएको छ।

ब्रुकलिन र वासिङटन हाइट्समा बेसमेन्ट पानीले डुबिँदा क्रमशः ३९ र ४३ वर्षका पुरुष मृत फेला परेका हुन्।

ब्रुकलिनको प्रोस्पेक्ट लेफर्ट्स गार्डेनस्थित किङ्सटन एभेन्युमा एक पुरुष आफ्नो कुकुर बचाउन बेसमेन्टमा पसेका थिए, तर फर्किएनन्। उद्धारकर्मीले उनलाई बेहोस अवस्थामा फेला पारे पनि अस्पताल पुग्दा मृत घोषित गरिएको थियो।

वासिङटन हाइट्समा भने वेस्ट १७५ औं स्ट्रीटमा रहेको बोइलर कोठा डुबानमा परेपछि एक पुरुष त्यहीँ मृत फेला परेका हुन्। प्रहरीले सम्भावित करेन्ट लाग्ने डरमा उद्धार टोली खटाएको जनाएको छ।

तीव्र वर्षाका कारण ब्रोंक्स र क्विन्समा सडक डुबान, ट्राफिक अवरुद्ध र धेरै ठाउँमा सबवे सेवा प्रभावित भएको छ। केही स्थानमा एक घण्टामै एक इन्चभन्दा बढी वर्षा भएको बताइएको छ।

न्यूर्क, लागार्डिया र जेएफके विमानस्थलमा समेत हावाको असरले करिब चार घण्टासम्म उडान ढिलाइ भएको थियो।

मौसमविद्हरूका अनुसार, आज रातिसम्म मौसम सुधार हुँदै जाने र शुक्रबार बिहानदेखि आकाश खुल्ने अनुमान गरिएको छ।