मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
- १४ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं — मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पासतर्फ गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कमा छैनन्। लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै मनाङको फु गाउँतर्फ निस्किँदै गर्दा हिमपातका कारण उनीहरू सम्पर्कविहीन भएका हुन्।
तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक रहेको समूह मङ्गलबारदेखि सम्पर्कविहीन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। उनका अनुसार सरिबुङ पास करिब ६ हजार मिटर उचाइमा पर्ने भएकाले त्यहाँ भारी हिमपात भइरहेको छ।
भुसालका अनुसार सम्पर्कविहीन टोली दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरिएको छ। “त्यहाँ खाना र बस्ने सुविधा भएकाले उनीहरू धर्मशालामै सुरक्षित हुनसक्छन्,” उनले भने।
हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत दुई साताअघि काठमाडौँबाट पदयात्रा सुरु भएको थियो। कम्पनीका व्यवस्थापक दीपक मैनालीले आज बिहान मात्रै समूहका पथप्रदर्शकसँग छोटो फोन सम्पर्क भएको बताए।
“फोनमा राम्रोसँग कुरा हुन सकेन, मौसम र सञ्चार दुबै अवरोध छन्,” मैनालीले भने, “हामीले गृह मन्त्रालयसँग उनीहरूको स्थान पत्ता लगाएर उद्धारको तयारी गर्न अनुरोध गरेका छौँ।”
उनीहरूले सरिबुङ पास पार गरेर मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योजना बनाएका थिए।