२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पाकेको धानबाली वर्षाले नष्ट, किसान चिन्तित

पाकेको धानबाली वर्षाले नष्ट, किसान चिन्तित

काठमाडौं – लगातार तीन दिनदेखि परेको वर्षाले पाकेर थन्क्याउन लागिएको धानबाली नष्ट भएपछि किसानहरू निकै चिन्तित छन्। खोटाङ जिल्लाका सबै १० स्थानीय तहमा धानका बाली भिजेर र ढलेर सोतर भएपछि किसानहरू भोकमरीको डरमा परेका छन्।

दिक्तेल रूपाकोट मझुवागढी–६ नेर्पाका किसान चेतनाथ आचार्यले भने, “३५ रोपनी खेतमा धान लगाएको थिएँ, सबै ढल्यो र सोतर भयो। अब वर्षभरिको खाना नै सक्कियो। सरकारले केही उपाय गर्नुपर्छ।”

कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीका अनुसार, यस वर्ष समयमै रोपाइँ भएकाले राम्रो उत्पादनको आशा गरिएको थियो। तर लगातारको वर्षाले ठूलो क्षति गरेको बताए। “अहिले क्षतिको विवरण संकलन भइरहेको छ, ठ्याक्कै कति नोक्सान भयो भन्न सकिएको छैन,” उनले भने।

जिल्लामा करिब ९,९८८ हेक्टरमा धान खेती हुने गर्छ। यस वर्ष २५ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान थियो। तर अब उत्पादन घट्ने निश्चित भएको किसानहरूको भनाइ छ।

अधिकांश किसानले थन्क्याउनका लागि खेतमै ढालेर सुकाएको धान वर्षाले भिजाएर नष्ट गरेको छ। यद्यपि, वर्षाले गहुँ, सागसब्जी र फलफूलजस्ता हिउँदे बालीलाई भने केही राहत दिएको किसानहरूको भनाइ छ।

तर, धान खोटाङको मुख्य बाली भएकाले यस वर्षको क्षतिले जिल्लामा भोकमरीको डर थपिएको किसानहरूले बताएका छन्।