तनहुँमा ५२ जना गर्भवतीलाई पोषण भत्ता वितरण
- १५ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – तनहुँकाे व्यास नगरपालिकाले आमाको स्वास्थ्य स्याहार र नवजात शिशुको सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता दिएको छ।
साउनदेखि असोजसम्मको अवधिमा जनही पाँच हजारका दरले दुई लाख ६० हजार रुपैयाँ वितरण गरिएको हो। अघिल्लो वर्ष २४३ गर्भवतीलाई १२ लाख २५ हजार रुपैयाँ वितरण गरिएको थियो। हालसम्म करिब तीन सय गर्भवती महिलालाई झन्डै १५ लाख रुपैयाँ खर्च भइसकेको महिला विकास निरीक्षक जानुका सुर्खालीले बताइन्।
उनका अनुसार यो रकम “महिलासँग उपप्रमुख” कार्यक्रमअन्तर्गत दिइन्छ। यस भत्ताले गर्भवती महिलालाई पोषणमा सहयोग पुर्याउने, नियमित गर्भजाँच गर्न प्रोत्साहित गर्ने र असुरक्षित सुत्केरीलाई रोक्ने उद्देश्य राखिएको छ।
नगर क्षेत्रका स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक जाँच गराएका गर्भवतीले आठ महिनापछि यो भत्ता पाउने व्यवस्था छ। पहिले हातैमा नगद दिइन्थ्यो, अहिले भने चेकको फोटोकोपी पेस गर्नुपर्ने नियम लागू गरिएको सुर्खालीले बताइन्।
त्यसैगरी, यस आर्थिक वर्षदेखि अपाङ्गता भएका व्यक्तिलाई डिजिटल प्रविधिबाट परिचयपत्र वितरण सुरु गरिएको छ। अहिले दुई जनालाई ‘क’ वर्ग, २९ जनालाई ‘ख’ वर्ग, १८ जनालाई ‘ग’ वर्ग र सात जनालाई ‘घ’ वर्गको परिचयपत्र दिइएको सहायक निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिइन्। गत वर्ष १९० जनाले यस्तो परिचयपत्र पाएका थिए।