न्यूयोर्क- आगामी मंगलबार हुने न्यूयोर्क सिटीको मेयर चुनावसँगै मतदाताले ६ वटा महत्वपूर्ण जनमत संग्रहमा पनि मत दिन लागेका छन्, जसमा एउटा राज्यव्यापी प्रस्ताव पनि समावेश छ। यी प्रस्तावहरूका विवरण न्यूयोर्क सिटी क्याम्पेन फाइनान्स बोर्डको NYCVotes.org ले सार्वजनिक गरेको हो।
प्रस्ताव नं. १: एसेक्स काउण्टीमा ओलम्पिक खेलकुद केन्द्र विस्तार
राज्यव्यापी रूपमा मतदान हुने यो प्रस्तावले एसेक्स काउण्टीको ओलम्पिक स्पोर्ट्स कम्प्लेक्समा नयाँ स्की ट्रेल्स विस्तार गर्न अनुमति दिनेछ, जसले राज्य वन संरक्षित क्षेत्रको केही भाग प्रयोग गर्नेछ। साटोमा, राज्यले एडिरोनड्याक पार्कमा २,५०० एकड नयाँ वन क्षेत्र संरक्षणमा थप्नेछ।
प्रस्ताव नं. २: सस्तो आवास निर्माणलाई तीव्रता दिने
यो प्रस्तावले सस्तो आवास योजनाहरू छिटो निर्माण गर्न दुई प्रक्रिया सुरु गर्नेछ —
१. सार्वजनिक रूपमा वित्तपोषित परियोजनाहरूका लागि, र
२. १२ वटा समुदायमा, जहाँ सस्तो आवास विकास दर सबैभन्दा कम छ।
“हो” मतले यी छिटो स्वीकृति प्रक्रिया लागू गर्नेछ, जबकि “होइन” मतले हालको सात महिनाको समीक्षा प्रक्रिया कायम राख्नेछ।
प्रस्ताव नं. ३: साना आवास तथा पूर्वाधार योजनाको समीक्षा सरल बनाउने
यो प्रस्तावले साना विकास योजनाहरूको अनुमोदन प्रक्रिया छोट्याउने उद्देश्य राख्छ — विशेषगरी भू-उपयोग परिवर्तन र जलवायु जोखिमका लागि तयारीसम्बन्धी योजनामा। अधिकांश मामिलामा सिटी काउन्सिलको अन्तिम स्वीकृति प्रक्रिया हटाइनेछ।
प्रस्ताव नं. ४: अफोर्डेबल हाउजिङ अपील्स बोर्ड गठन
यो प्रस्तावले सिटी काउन्सिलले अस्वीकार गरेका वा परिवर्तन गरेका आवास परियोजनाको पुनर्विचार गर्न एक नयाँ अपील बोर्ड गठन गर्नेछ। उक्त बोर्डमा स्थानीय बरो अध्यक्ष, सिटी काउन्सिलका स्पीकर र मेयर रहनेछन्। दुई-तिहाइ मतले बोर्डले काउन्सिलको निर्णय उल्ट्याउन सक्नेछ।
प्रस्ताव नं. ५: डिजिटल सिटी म्याप निर्माण
यो प्रस्तावले सहरको सबै भू-नक्शा प्रणालीलाई एकीकृत र डिजिटल बनाउने जिम्मेवारी सिटी प्लानिङ विभाग (DCP) लाई दिनेछ। यसले शहरी योजना र सार्वजनिक पहुँच सुधार्ने लक्ष्य राखेको छ।
प्रस्ताव नं. ६: स्थानीय चुनावलाई राष्ट्रपतीय वर्षमा सार्ने
यो प्रस्तावले स्थानीय चुनावहरू राष्ट्रपतीय चुनाव हुने वर्षमै राख्ने प्रस्ताव गर्छ। समर्थकहरूका अनुसार यसले मतदाता सहभागिता बढाउनेछ, जबकि विरोधीहरू भन्छन्, स्थानीय मुद्दा राष्ट्रिय राजनीतिमा हराउने खतरा रहन्छ।