सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटल खचाखच
- १५ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – लगातार तीन दिनदेखि परेको झरी र कुहिरोका कारण सगरमाथा क्षेत्रको लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा सबै उडान बन्द छन्। बिहीबारदेखि विमान र हेलिकप्टर दुबै उड्न नसकेका हुन्।
लुक्लाका हवाई ट्राफिक नियन्त्रक नवराज कटुवालका अनुसार यो मौसममा सामान्यतया दैनिक ६० भन्दा बढी उडान हुने गर्छ, तर अहिले आकाश ढाकिएकाले दृश्यता अत्यन्त न्यून छ।
उडान बन्द भएपछि सगरमाथा फर्किने तयारीमा रहेका करिब १,५०० पर्यटक लुक्लामै अड्किएका छन्। तारा एयरका इन्चार्ज अमृत मगरले भने, “सबै होटल भरिएका छन्, नयाँ पाहुनालाई कोठा पाउनै मुस्किल छ।” केही होटलले पाहुनालाई लबीमै बसालिरहेका छन्।
फ्रान्सकी पर्यटक ज्युली मारीले भनिन्, “हामी सगरमाथा आधारशिविरबाट फर्केका हौँ, तीन दिनदेखि लुक्लामै रोकिएका छौँ, उडान कहिले खुल्छ थाहा छैन।”
नाम्चे बजारमा पनि त्यस्तै अवस्था छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार नाम्चेमै करिब १,२०० पर्यटक रोकिएका छन्। उनले भने, “माथिल्लो क्षेत्रमा हिउँ परेको छ, सबैतिर पर्यटक अड्किएका छन्, होटलहरू पूरै भरिएका छन्।”
नाम्चेमा घाम नलागेको चार दिन भइसकेको बताउँदै स्थानीय टेक राईले भने, “पर्यटकहरू किताब पढ्दै, गीत सुन्दै र कफी पिँदै समय काटिरहेका छन्।”
हवाई उडान बन्द भएपछि केहीले स्थलमार्गबाट सल्लेरी हुँदै काठमाडौँ फर्किने प्रयास गरिरहेका छन्, तर त्यो बाटो पनि पहिरो र हिलोले अवरुद्ध छ। विशेषगरी काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा जाम हुने गरेको पर्यटन व्यवसायी बल दर्नालले बताए।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार अझै दुई–तीन दिनसम्म वर्षा र हिमपात जारी रहने सम्भावना छ। उनले भने, “कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मनसुन अझै सक्रिय छ, त्यसपछि मात्रै मौसम खुल्ने देखिन्छ।”