२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको सम्भावना अस्वीकार

राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको सम्भावना अस्वीकार

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य आक्रमण गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन्। लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकाले भेनेजुएलाभित्र आक्रमण गर्नसक्ने खबर सार्वजनिक भएपछि ट्रम्पले ती रिपोर्ट ‘सत्य होइन’ भन्दै खारेज गरेका हुन्।

गत हप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले विमानवाहक समूह यूएसएस जेराल्ड आर फोर्डलाई क्यारिबियन क्षेत्रतर्फ पठाउने आदेश दिएका थिए। त्यसपछि भेनेजुएलामाथि अमेरिकी सैन्य कदमको अड्कल बढेको थियो।

यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई वास्तविक विकल्प भनेका थिए। उनले वासिङ्टनले ल्याटिन अमेरिकाभर फैलिएका नार्को–तस्करी सञ्जालविरुद्ध अभियान बलियो बनाउन खोजिरहेको बताए।

त्यस्तै, अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रमा लागुऔषध बोक्ने भनिएका डुङ्गाहरूमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ। बुधबार मात्रै भएको एक आक्रमणमा चार जनाको मृत्यु भएको थियो। सेप्टेम्बरदेखि हालसम्म १५ वटा डुङ्गा नष्ट भइसकेका छन् र कम्तीमा ६१ जनाको ज्यान गएको छ।

यी आक्रमणप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चासो जनाएको छ। मानव अधिकारका उच्चायुक्त भोल्कर टर्कले अमेरिकी आक्रमणहरू ‘मानवीय दृष्टिले अस्वीकार्य’ भन्दै तुरुन्त रोक्न आग्रह गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिकाले क्षेत्रीय रणनीतिमा सावधानीपूर्वक सन्तुलन खोजिरहेको सङ्केत हो।