२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एडिपीको साधारणसभा सम्पन्न, गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्ने तयारी

एडिपीको साधारणसभा सम्पन्न, गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्ने तयारी

काठमाडौँ- नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) ले ठूला र रोजगारमूलक परियोजनामा लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीको पहिलो वार्षिक साधारणसभाले सरकारी र निजी क्षेत्रबीच सहकार्य गर्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि र साना उद्योगमा लगानी बढाउने योजना पारित गरेको हो।

कम्पनीका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले साधारणसभामा प्रस्तुत प्रतिवेदनमार्फत लगानी सुरक्षित र व्यवस्थित बनाउनका लागि कम्पनीले जोखिम व्यवस्थापन र विविधीकरण प्रणाली विकास गरिरहेको बताए। उनले अहिलेको सुस्त अर्थतन्त्रमा लगानीकर्ताको मनोबल घटेको बताउँदै सरकारले व्यवसायको सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिए।

ढकालका अनुसार एनडिपीले मुलुकको उत्पादन र रोजगारी बढाउन, अर्थतन्त्रलाई लयमा ल्याउन र लगानीकर्ता बीच आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। उनले भने, “अहिले बजार सुस्त छ, माग घटेको छ। तर यस्तो समयमा पनि हामीले रणनीतिक लगानी गरेर अर्थतन्त्रलाई गति दिन सक्छौं।”

उनले स्वदेश र विदेशमा रहेका नेपालीहरू, विशेष गरी गैरआवासीय नेपाली (एनआरएन) हरूले कम्पनीमा गहिरो चासो देखाएको जानकारी दिए। ढकालले भने, “अमेरिकामा मसँग भेट भएका नेपालीहरू नेपालको लगानी वातावरणबारे निकै उत्साहित थिए। धेरैजना यस कम्पनीमा लगानी गर्न तयार छन्।”

साथै, कम्पनीले स्वदेशी र विदेशी व्यवसायीलाई उद्योग स्थापनादेखि सञ्चालनसम्म आवश्यक परामर्श दिने, समस्याग्रस्त उद्योग पुनर्जीवित गर्ने र वैदेशिक लगानी भित्र्याउने परियोजनामा सहयोग गर्ने बताइएको छ।

एक वर्षअघि स्थापना भएको कम्पनीको पूँजी १० अर्ब रुपैयाँ छ। हाल ४६ जिल्लाका २४६ जना शेयरधनी रहेका छन्। यो कम्पनी ७७ वटै जिल्लाका उद्यमी र गैरआवासीय नेपालीको लगानीमा स्थापना गरिएको हो।

बागलुङको ढोरपाटनमा भएको उद्योग वाणिज्य महासंघको बैठकले देशभर छरिएका उद्यमीलाई एकत्रित गरी सबल र सहभागितामूलक लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो, जसअनुसार एनडिपी गठन गरिएको हो।