२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कमा मेयर चुनाव : अन्तिम दौडमा तीन उम्मेदवार सडकमा

न्यूयोर्कमा मेयर चुनाव : अन्तिम दौडमा तीन उम्मेदवार सडकमा

न्यूयोर्क – न्यूयोर्क सहरको मेयर चुनाव अन्तिम चरणमा पुगेका बेला प्रमुख तीन उम्मेदवारले हरेक मतका लागि सडक तताएका छन्। आइतबार सकिएको अग्रिम मतदानमा एकै दिन एक लाखभन्दा बढी मत खसेपछि प्रतिस्पर्धा थप तातिएको छ।

स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यू कुमो शनिबार क्विन्सको किराना पसलमा मेयर एरिक एडम्ससँग देखिए। लामो समय प्रतिस्पर्धी रहे पनि एडम्सले अहिले कुमोलाई खुला समर्थन दिएका छन्। कुमोले डेमोक्र्याटिक उम्मेदवार जोहरन मम्दानी र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाविरुद्ध अन्तिम चरणमा मत तान्ने प्रयास गरिरहेका छन्।

हालैको सर्वेक्षणमा मम्दानीले कुमोमाथि दुई गुणा बढ्ता अग्रता कायम गरेका छन्। तर कुमोले आफू क्रमशः अगाडि बढ्दै गएको दाबी गरे। “उनी तल झर्दैछन्, म माथि चढ्दैछु,” कुमोले भने।

क्विन्सका विधायक मम्दानी भने आत्मविश्वासी छन्। “यो नयाँ पुस्ताको लहर हो, परिवर्तन चाहने न्यूयोर्कवासीहरूको उर्जा हो,” उनले भने।

गार्डियन एन्जल्सका संस्थापक स्लिवाले पनि दोस्रो स्थानका लागि प्रतिस्पर्धा जारी रहेको बताउँदै भने, “हामी क्विन्सलाई राताम्य बनाउन सक्छौं।”

अघिल्लो चुनावको तुलनामा यो पटक अग्रिम मतदानमा मतदाता सहभागिता पाँच गुणा बढी देखिएको छ। मतदाताहरूको मुख्य चिन्ता आर्थिक कठिनाइ र सार्वजनिक सुरक्षाको समस्या रहेको बताइएको छ।

कुमोले पाँच हजार नयाँ प्रहरी भर्ती गर्ने घोषणा गरेका छन्। शनिबार मम्दानी हार्लेममा नागरिक अधिकारका नेता अल सार्पटनसँग उपस्थित भएका थिए। सार्पटनले मम्दानीको अभियानको प्रशंसा गर्दै भने, “यो त्यही उम्मेदवार हो, जो सधैं जनताबीच देखिन्छ।”

अन्तिम दिनहरूमा मम्दानी र कुमोबीच आरोप–प्रत्यारोप तीव्र बनेका छन्। मम्दानीले कुमोलाई नकारात्मक प्रचार गरेको आरोप लगाए भने कुमोले मम्दानीलाई अनुभवहीन र समाजवादी विचारले प्रेरित भएको बताएका छन्।

मम्दानीले भने, “म आत्मविश्वासी छु, तर त्यो आत्मविश्वास कहिल्यै लापरवाहीमा परिणत हुँदैन।”