तीन उम्मेदवारबीच अन्तिम चरणको प्रतिस्पर्धा, मम्दानी सर्वेक्षणमा अगाडी
- १७ कार्तिक २०८२
- २ मिनेटको पढाई
न्यूयोर्क – न्यूयोर्क सहरको मेयर चुनावको अग्रिम मतदान आइतबार सकिँदा मतदाताको भीड असाधारण रूपमा देखियो। पाँचवटै बरोमा अन्तिम दिन मात्रै १ लाख ५० हजारभन्दा बढी मत खसेका छन्। यो पहिलो दिनको तुलनामा दोब्बर हो।
शहरभर आइतबार बेलुकीसम्म ७ लाख ३५ हजारभन्दा बढी मतदाता मतदानमा सहभागी भएको न्यूयोर्क सिटी बोर्ड अफ इलेक्शनले जनाएको छ। केही मतदान केन्द्रमा लामो लाइन समेत देखिएको बताइएको छ।
आगामी मंगलबार हुने निर्णायक मतदानअघि तीनै प्रमुख उम्मेदवारहरूले आइतबार मतदातासँग अन्तिम अपिल गरे।
डेमोक्र्याटिक उम्मेदवार जोहरन मम्दानी आइतबार हार्लेममा समर्थकलाई धन्यवाद दिँदै अभियानको अन्तिम चरणमा सक्रिय देखिए। क्विन्सका राज्य सांसद मम्दानी सर्वेक्षणमा अग्रपंक्तिमा छन्। समर्थकहरूले उनलाई परिवर्तन ल्याउने उम्मेदवार भनेर वर्णन गरे पनि कतिपय मतदाताले उनलाई कम्युनिस्ट भन्दै विरोध पनि गरेका छन्। मम्दानीले आफू डेमोक्र्याटिक सोसलिस्ट भएको स्पष्ट पारेका छन्।
स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यू कुमो भने आइतबार ब्रङ्क्समा मतदातासँग भेटिए। उनले ३४ वर्षीय मम्दानी अति युवा र अनुभवहीन भएको भन्दै सुरक्षा र इजरायलप्रति कठोर दृष्टिकोणले उनलाई अस्वीकार्य बनाउने तर्क गरे।
“यो केटोले डोनाल्ड ट्रम्पसँग राजनीति गर्ने? ट्रम्पले त उसलाई पैतलामुनि दबाउनेछ,” कुमोले पत्रकारसँग भने।
रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा पनि आफ्नो अन्तिम सन्देशमा आत्मविश्वासी देखिए। “तीन उम्मेदवारमध्ये म ‘कानुन र व्यवस्था’को पक्षमा छु,” उनले भने, “मलाई रुडी ग्युलियानीले समर्थन गरेका छन् — म ग्युलियानी २.० हुँ।”
नयाँ सर्वेक्षण अनुसार मम्दानी अग्रस्थानमा छन् भने कुमो र स्लिवा दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छन्।
डेमोक्र्याटिक पार्टीभित्र मम्दानीको उदयलाई लिएर मतभेद पनि देखिएको छ। हाउस माइनोरिटी लिडर हाकिम जेफ्रिजले लामो मौनतापछि उनलाई समर्थन गरे पनि मम्दानीलाई पार्टीको भविष्यका रूपमा नदेख्ने बताएका छन्। त्यस्तै, न्यूयोर्कका सिनेटर चक शुमर र कर्स्टेन गिलिब्रान्डले अझै समर्थन जनाएका छैनन्।
कुमोले मम्दानी र पूर्व राष्ट्रपति बराक ओबामाबीच भएको फोन संवादको विषयलाई लिएर पनि टिप्पणी गरे। ओबामाले उनलाई समर्थन त गरेनन्, उनले भने। मम्दानीले भने पुरानो विवादास्पद ट्वीटलाई कलेजका एक मूर्ख विद्यार्थीको गल्ती भनेर स्पष्ट पारेका छन्।
अग्रिम मतदान आइतबार साँझ ५ बजे बन्द भएको छ। आगामी मंगलबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म मतदान केन्द्रहरू पुनः खुल्नेछन्।