हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
- १७ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिक आज बिहान ठूलो हिमपहिरो गएको छ। यस घटनामा एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको छ भने आठ जना बेपत्ता छन्।
प्रहरीका अनुसार आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह बिहान करिब ९ बजे हिमपहिरोमा पर्यो। अहिले उनीहरूको अवस्थाबारे जानकारी प्राप्त भएको छैन।
स्थानीय वडाध्यक्ष निमगेली शेर्पाका अनुसार बिहानैदेखि उद्धारको प्रयास भइरहेको छ, तर हेलिकप्टर उडानका लागि क्षेत्र प्रतिबन्धित भएकाले अनुमति लिन ढिलाइ भएको छ। यस कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए।
प्रहरीले भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको र मौसम खराबीका कारण हेलिकप्टर त्यहाँ पुग्न नसकेको जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।