न्यूयोर्कमा आज मतदाताले ६ प्रस्तावमा निर्णय गर्ने
- १८ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- आज न्यूयोर्क सिटीका मतदाताले मेयर चयनसँगै सहर र राज्यसँग सम्बन्धित ६ मतपत्र प्रस्तावमा पनि निर्णय गर्ने भएका छन्। ती प्रस्तावमध्ये एक राज्यव्यापी र बाँकी पाँच सहरस्तरका छन्।
१. ओलम्पिक स्पोर्ट्स कम्प्लेक्स विस्तार
यस प्रस्तावले एस्सेक्स काउन्टीमा रहेको राज्य वन क्षेत्रभित्र नयाँ स्की ट्रेल बनाउन अनुमति दिनेछ। यसको सर्तस्वरूप २,५०० एकड नयाँ जंगल क्षेत्रलाई संरक्षित पार्कको रूपमा घोषणा गरिनेछ।
२. सस्तो आवास छिटो निर्माण गर्ने प्रक्रिया
सहरमा सस्तो आवासको विकास तीव्र पार्ने उद्देश्यले दुई नयाँ प्रक्रिया ल्याउने प्रस्ताव गरिएको छ – एउटा सार्वजनिक लगानीका लागि र अर्को ती बरोहरूका लागि जहाँ सस्तो आवास निर्माण दर सबैभन्दा कम छ।
३. साना परियोजनाको समीक्षा प्रक्रिया सरल बनाउने
यो प्रस्ताव पारित भए साना आवास र पूर्वाधार योजनाको अन्तिम समीक्षा सिटी काउन्सिलले नगर्ने व्यवस्था हुनेछ।
४. अफोर्डेबल हाउजिङ अपिल बोर्ड गठन
सिटी काउन्सिलले अस्वीकार वा परिमार्जन गरेका आवास योजनाको पुनरावलोकन गर्न मेयर, सिटी काउन्सिल स्पिकर र बरो अध्यक्ष रहने अपिल बोर्ड गठन गर्ने प्रस्ताव।
५. डिजिटल सिटी नक्सा तयार गर्ने
सहरका सबै नक्सा एउटै डिजिटल प्लेटफर्ममा ल्याउने र त्यसको जिम्मा सिटी प्लानिङ विभागलाई दिने।
६. स्थानीय चुनाव राष्ट्रपतीय वर्षमा सार्ने
मतदाता सहभागिता बढाउन स्थानीय निर्वाचनहरू राष्ट्रपतीय चुनाव हुने वर्षमा सार्ने प्रस्ताव गरिएको छ।
यी सबै प्रस्तावका पक्ष–विपक्षका तर्क तथा थप विवरण NYCVotes.org मा उपलब्ध छन्।