क्विन्सका सांसददेखि न्यूयोर्कका मेयरसम्म : जोहरन ममदानीको असाधारण उचाइ
- १९ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – गत अक्टोबरमा मेयर पदका लागि उम्मेदवारी घोषणा गर्दा जोहरन ममदानी धेरै न्यूयोर्कबासीका लागि अपरिचित थिए। तर ३४ वर्षे डेमोक्र्याटिक समाजवादी नेताले पूर्व राज्यपाल एन्ड्र्यू कुओमोमाथि जित निकाल्दै अमेरिकाको सबैभन्दा ठूलो सहरको राजनीतिक मानचित्र नै उल्ट्याए।
मंगलबार सम्पन्न आम निर्वाचनमा उनले पुनः कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्दै न्यूयोर्क सिटीका पहिलो मुस्लिम, पहिलो अफ्रिकामा जन्मेका र पहिलो दक्षिण एसियाली मूलका मेयर बने। उनी एक सय वर्षयताका सबैभन्दा युवा मेयर समेत हुन्।
ममदानीको प्रचार अभियानले सहरलाई किफायती बनाउने वाचा गरेको थियो— निःशुल्क बाल हेरचाह, निःशुल्क बस सेवा, भाडामा नियन्त्रण, सस्तो आवास र धनीहरूमाथि कर वृद्धि उनका प्रमुख एजेन्डा थिए।
२०२० मा ‘एनवाइपीडी’ लाई ‘डिफन्ड’ गर्नुपर्ने भनाइका कारण आलोचना झेलेका ममदानीले पछि माफी माग्दै प्रहरीसँग सहकार्य गर्ने संकेत दिएका थिए।
युगाण्डामा जन्मिएका ममदानी पुरस्कार विजेता फिल्मनिर्मात्री मीरा नायरका छोरा हुन्। उनी सात वर्षको उमेरमा परिवारसहित न्यूयोर्क आएका थिए।
राजनीतिमा प्रवेश गर्नुअघि उनले घरजग्गा जफत रोकथाम सल्लाहकारको रूपमा काम गरेका थिए। हिपहप संगीतमा ‘मिस्टर कार्डामोम’ नामले परिचित ममदानीले पछि स्थानीय राजनीतिमा प्रवेश गर्दै २०२० मा क्विन्सबाट राज्यसभा सदस्य बनेका थिए।
उनको प्रगतिशील अभियान, बहुभाषिक पहुँच र भाइरल भिडियोहरूले उनलाई युवा मतदातामाझ लोकप्रिय बनाए।
प्यालेस्टिनी अधिकारका पक्षधर ममदानीले इस्रायलको नीतिको आलोचना गर्दै आएका छन्, जसका कारण चुनावभर विवाद बढेको थियो। उनले आफ्नो विजय भाषणमा भने, “हाम्रो सहरमा कुनै पनि समुदायका विरुद्ध घृणालाई स्थान दिइने छैन।”
ममदानीले जनवरी १ देखि न्यूयोर्क सिटीका मेयरका रूपमा कार्यभार सम्हाल्नेछन्।