जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
- २० कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा शब्दमा चेतावनी दिएका छन्। उनले गृहमन्त्रीले जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल कदम चाल्न आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत गुरुङले भनेका छन्, “देशभर ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दैछ, तर तपाईं ‘जेनजीलाई कारबाही’ मात्र सुन्ने गृहमन्त्री बन्नुभयो, यो राष्ट्रप्रतिको अपमान हो।”
उनले दुई महिना बितिसक्दा पनि न भ्रष्टाचारविरुद्ध न हत्यारा विरुद्ध कारबाही भएको भन्दै गृहमन्त्रीलाई पद छोड्ने वाचा पूरा गर्न माग गरे।
गुरुङले चेतावनी दिँदै भनेका छन्, “यदि नेपाली जनता र जेनजीका माग सम्बोधन भएनन् भने यो चुनाव हुन दिइने छैन। अझै पनि गृहमन्त्रीको कुर्सीमा बसिरहनुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”