२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

अमेरिकामा सरकारी शटडाउनका कारण सयौं उडान रद्द

अमेरिकामा सरकारी शटडाउनका कारण सयौं उडान रद्द

न्युयोर्क – अमेरिकी इतिहासकै लामो सरकारी शटडाउनका कारण देशभर हवाई यात्रा अवरुद्ध बन्दै गएको छ। भोलिदेखि एयरलाइन्सहरूले सयौं उडान रद्द गर्ने घोषणा गरेका छन्।

फेडरल एभिएशन अथोरिटी (FAA) ले जारी गरेको निर्देशनपछि यस्तो निर्णय गरिएको हो। पछिल्लो केही हप्तादेखि एयर ट्राफिक कन्ट्रोलरहरू तलब नपाएर काम छाड्दै गएका छन्। जसका कारण धेरै विमानस्थलमा उडान ढिलाइ भइरहेको छ।

अमेरिकी यातायात मन्त्री सीन डफीका अनुसार, यदि शटडाउन चाँडै समाप्त नभए, देशका ४० ठूला विमानस्थलमा हवाई यातायात करिब १०% घट्न सक्छ। दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुनसक्ने चेतावनी पनि दिइएको छ।

यात्रुहरू समस्यामा परेका छन्। बोस्टन उडानका लागि तयारी गरिरहेकी हेदर बोशले भनिन्, “मेरो उडान ढिला भयो, फेरि अर्कोमा सारियो, तर त्यो पनि समयमै उडेन। अहिले के गर्ने सोच्दै छु।”

उनकै जस्तै अरू धेरै यात्रुहरू पनि वैकल्पिक योजना बनाइरहेका छन् — कसैले कार भाडामा लिएका छन्, कसैले होटलमा बस्नुपर्ने भएको छ।

यात्रु जुली चार्नेट भन्छिन्, “सौभाग्यवश, मेरो उडान आज राति नै छ। भोलि हुने भएको भए त ठुलो समस्या पर्थ्यो।”

अहिलेसम्म अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य रूपमा चल्ने बताइएको छ।