२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

बाढीपहिरोबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी

बाढीपहिरोबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी

काठमाडौँ- गत असोजमा परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। सो क्षतिपूर्तिका लागि बीमा कम्पनीहरूमा हालसम्म रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ। बीमा प्राधिकरणका अनुसार असोज १७ देखि १९ गतेसम्मको बाढीपहिरोपछि ४३४ वटा बीमा दावीको आवेदन परेको छ।

सम्पत्ति बीमा, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, कृषि तथा बाली बीमा, मोटर बीमा निजी तथा सार्वजनिक, सामुन्द्रिक बीमा लगायतका विभिन्न बीमामा दावी गरिएको छ। सुनसरीमा मात्र १९७ वटा दावी परेको छ भने मोरङमा ९०, काठमाडौँमा ८०, इलाममा ६०, पर्सामा ७१, झापामा २० र रौतहटमा २८ वटा दावी दर्ता भएका छन्।

यसअघि गत भदौमा भएको आन्दोलनका कारण रु २३ अर्ब २३ करोड बराबरको बीमा दावी परेको थियो भने असारमा गएको बाढीपहिरोबाट रु ९८ करोड ५९ लाख बराबरको दावी दर्ता भएको थियो।

प्राकृतिक जोखिम बढेसँगै बीमा कम्पनीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढिरहेको प्राधिकरणले जनाएको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघुबीमा कम्पनीमा यस्ता दावीहरू दर्ता भइरहेका छन।