४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालद्वारा भारतलाई ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालद्वारा भारतलाई ९२ रनले पराजित

काठमाडौँ- हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल बनायो। नेपालका लागि रसिद खानले ५५ रन, सन्दीप जोराले ४७ रन तथा लोकश बमले ३१ रनको योगदान दिए।

१३८ रनको लक्ष्य पछ्याएको भारत मात्र तीन ओभरमै अलआउट हुँदै ४५ रनमा समेटियो। भारतका भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले सात–सात रन जोडे।

नेपालका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई–दुई विकेट हात पारे।

यसअघि समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले, श्रीलङ्कासँग तीन विकेटले तथा हिजो अफगानिस्तानसँग पराजित भएको थियो। आजको जितले प्रतियोगितामा नेपालको मनोबल उच्च बनाएको छ।