२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रेभल इभेन्ट्स इन्क.द्वारा नेपाली संगीत तथा सांस्कृतिक महोत्सवको घोषणा

रेभल इभेन्ट्स इन्क.द्वारा नेपाली संगीत तथा सांस्कृतिक महोत्सवको घोषणा

न्युयोर्क- न्युयोर्कस्थित रेभल इभेन्ट्स इन्क. ले आउँदो नोवेम्बर १४ मा एक भव्य नेपाली संगीत तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेको छ। न्युयोर्कको Melrose Ballroom मा हुने यस कार्यक्रमलाई सामुदायिक व्यक्तित्वहरू कृष्ण आचार्य, छिरिङ शेर्पा, ए.पी. लामा तथा चर्चित कलाकार राजेश हमालको सहकार्यमा आयोजना गर्न लागिएको हो।

यस महोत्सवले नेपालका संगीत, नृत्य तथा परम्परागत संस्कृतिलाई एकै मञ्चमा प्रस्तुत गर्दै नेपाली कला र संस्कृतिको समृद्धि प्रदर्शन गर्ने उद्देश्य राखिएको छ। आयोजकहरूले यसलाई मनोरञ्जन मात्र नभई नेपाली पहिचान र सांस्कृतिक सम्मानको प्रतीकका रूपमा व्याख्या गरेका छन्।

कार्यक्रममा लोकप्रिय गायक नीतेश जंग कुँवर, आशा कुँवर लगायत अन्य संगीत समूहहरूको लाइभ प्रस्तुति रहनेछ। साथै परम्परागत तथा आधुनिक नृत्य प्रदर्शन, सांस्कृतिक स्टलहरू, कला प्रदर्शनी तथा पारिवारिक मनोरञ्जनका गतिविधिहरू समेत समावेश गरिनेछ।

आयोजक कृष्ण आचार्यले भने, “हाम्रो उद्देश्य यस्तो अनुभव सृजना गर्नु हो जसले नेपाली कलात्मक आत्मालाई सम्मान देओस् र संस्कृतिमार्फत मानिसहरूलाई जोडोस्।”

त्यस्तै सामुदायिक अगुवा छिरिङ शेर्पा, राजेश हमाल र ए.पी. लामाले भनेका छन्, “यो महोत्सवले नेपालको संगीत क्षेत्रमा भइरहेको नयाँ प्रयोग र फ्युजनलाई उजागर गर्नेछ र नयाँ कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।”

सांस्कृतिक प्रबर्द्धक सुरेश सापकोटा लगायतको सहभागिताले यस कार्यक्रमले नेपाली समुदायमा मात्र नभई अन्तर्राष्ट्रिय दर्शकको समेत ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बेगम पण्डित – त्रिवेणी टाइम्स, न्युयोर्क