मुस्ताङमा हिमपातपछि याकचौँरी बेँसीमा झारिए
- २३ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- मुस्ताङमा एक साताअघि परेको भारी हिमपात र चिसो बढेसँगै उच्च लेकमा पालिएका हजारौँ याकचौँरीलाई बेँसीमा स्थानान्तरण गरिएको छ। हिमपातले चरनक्षेत्र र पानीका मुहान ढाकिएपछि चौँरीलाई न्यानो स्थानमा झारिएको हो।
हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार कात्तिकदेखि जेठसम्म चौँरी बेँसीमा राखिन्छ भने वैशाखदेखि असोजसम्म उच्च लेकमा पुर्याइन्छ। थासाङ गाउँपालिकाका मार्चे, मुलिखर्क र बतासे लेकका करिब २,२०० चौँरी बेँसी झारिएका छन्।
घरपझोङ, जोमसोम, लोघेकर र लोमान्थाङमा पनि चौँरीपालन भइरहेको छ। जलवायु परिवर्तनका कारण घाँस अभाव, हिमचितुवाको आक्रमण र अनियमित हिमपातले परम्परागत चौँरीपालन संकटमा परेको पालकहरूले बताएका छन्।
मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ, छुर्पी बनाउँछन् भने पुच्छर धार्मिक प्रयोजनमा प्रयोग हुन्छ। वयस्क चौँरीको मूल्य एक लाखदेखि डेढ लाख रुपैयाँसम्म पर्छ।