२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्क र मम्दानीको कथा

न्यूयोर्क र मम्दानीको कथा

न्यूयोर्क-न्यूयोर्क सिटी फेरि एकपटक विश्वभर चर्चामा छ। सन् २०२५ नोभेम्बर ४ मा जोहरान मम्दानी मेयर निर्वाचित भएपछि यो सहरको नाम मात्र होइन, यसको आत्मा पनि नयाँ ढङ्गले उजागर भएको छ। उनी सन् १८९२ यता सबभन्दा कान्छा मेयर बनेका छन्, साथै न्यूयोर्कका पहिलो मुस्लिम मेयर पनि। यसैले मम्दानीको विजय केवल व्यक्तिगत उपलब्धि होइन, विविधता र आप्रवासीहरूको योगदानलाई सम्मान गर्ने प्रतीक हो।

न्यूयोर्कको इतिहास आप्रवासीहरूको कथा हो। डचहरूले १६२५ मा व्यापारिक केन्द्रका रूपमा बसाएको यो सहर ब्रिटिशहरूले कब्जा गरेर ‘न्यूयोर्क’ नाम दिएपछि संसारभरका मानिसहरू यहाँ भेला हुन थाले। पहिलो विश्वयुद्धताका अफ्रिकी–अमेरिकीहरूको ‘ग्रेट माइग्रेशन’ र पछिल्लो दशकमा विश्वभरिबाट आएका लाखौँ आप्रवासीहरूले यसलाई बहुसांस्कृतिक सहर बनाएका छन्। यही कारणले मम्दानीले आफ्नो विजय भाषणमा भने, “न्यूयोर्क सधैँ आप्रवासीहरूको सहर रहनेछ।”

यो सहर केवल इतिहासको स्मृति मात्र होइन, आजको अर्थतन्त्रको मेरुदण्ड पनि हो। अमेरिकाको कुल उत्पादनको करिब ९ प्रतिशत हिस्सा न्यूयोर्कले दिन्छ। वाल स्ट्रीट, स्टक एक्सचेन्ज, संयुक्त राष्ट्रसङ्घको मुख्यालय, स्ट्याच्यू अफ लिबर्टी, टाइम्स स्क्वाएर—यी सबैले न्यूयोर्कलाई विश्वको प्रतीक बनाएका छन्। तर यस भव्यतामाथि अझै पनि चुनौतीहरूको छाया छ। जातीय भेदभाव, धनी–गरिबबीचको खाडल, आम्दानी असमानता—यी समस्या सहरको दैनिक जीवनमा गहिरो रूपमा उपस्थित छन्।

मम्दानीको विजयले आशा जगाएको छ कि यी चुनौतीहरूसँग जुझ्न सकिन्छ। उनी युवा छन्, आप्रवासी पृष्ठभूमिबाट आएका छन्, र विविधतालाई शक्ति मान्छन्। तर न्यूयोर्क जस्तो विशाल सहरलाई सम्हाल्नु सजिलो छैन। यहाँ हरेक दिन १० लाख श्रमिक पाइला टेक्छन्, हरेक वर्ष हजारौँ आप्रवासी नयाँ जीवन सुरु गर्छन्। यस सहरले परिवर्तनलाई अँगाल्ने क्षमता राख्छ, तर असमानता घटाउने काम कठिन छ।

न्यूयोर्कको कथा सधैँ पुनर्जन्मको कथा हो। ९/११ को विनाशपछि पनि यो सहर उठ्यो, फेरि निर्माण भयो। आज मम्दानीको नेतृत्वमा यो सहरले फेरि नयाँ पहिचान खोज्दैछ- समावेशी, बहुसांस्कृतिक र न्यायपूर्ण भविष्यतर्फ।

नबराज केसी, न्यूर्योक